News 24 Television
अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाललाई पहिलोपटक पदक

काठमाडौं । अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपालले इतिहासमै पहिलो पदक जितेको छ । कजाखस्तानको अस्तानामा अगस्ट २ देखि ८ सम्म सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाली विद्यार्थी सिद्धान्त चतुर्वेदीले कांस्य पदक जितेका हुन् । 

प्रतियोगितामा सहभागी नेपालका चारै जना विद्यार्थी सम्मानित भएका छन् । त्यस्तै यो प्रतियोगितामा प्रसिद्ध मैनाली, पीताम्बर लामिछाने र आयुष यादवले विशेष प्रशंसा प्राप्त गरेका छन् । चारै जना काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थी हुन् । 

hl-f-1786694022.jpg
कजाखस्तानको कम्पिटिटिभ प्रोगामिङ फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा १०८ देशका ४७१ विद्यार्थी सहभागी थिए । यो प्रतियोगिताको अहिलेसम्मकै ठूलो संस्करण हो । सहभागीहरूले पाइथन र जुपिटर नोटबुक प्रयोग गरी मेसिन लर्निङसम्बन्धी समस्या समाधान गरेका थिए । 

नेपालले सन् २०२४ र २०२५ का संस्करणमा पनि सहभागिता जनाएको थियो । तर यसअघि कुनै पदक जित्न सकेको थिएन । यसपटकको सफलताका लागि पर्याप्त तयारी, विद्यार्थी छनोट र तालिमले महत्वपूर्ण भूमिका खेलेको नेपाली टोलीको भनाइ छ । 

हिमालयन कम्प्युटेसनल, लिङ्ग्विस्टिक एन्ड एआई ओलम्पियाड इन नेपालका अनुसार यो उपलब्धि पदकमा मात्र सीमित छैन । कम उमेरमै कृत्रिम बुद्धिमत्ता, प्रोग्रामिङ र मेसिन लर्निङका सीप विकास हुँदा नेपालमा दक्ष एआई जनशक्ति उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update