News 24 Television
आन्तरिक दबाब झेल्न ओलीको नयाँ राजनीतिक मुभ, अभियान अघि बढाउदै

काठमाडौं । एमाले अध्यक्ष केपी ओली झापा पुगेका छन्। निर्वाचनमा पराजय व्यहोरेपछि पहिलो पटक ओली झापा पुगेका हुन्। राजनीतिक रुपमा प्रश्नको घेराबन्दीसहित आन्तरिक रुपमा समेत नेताहरुको घेराबन्दीमा परेका ओली विस्तारै बौरिन थालेका छन्। 

जेनजी आन्दोलनअघि दुई तिहाईको शक्तिशाली सरकारको नेतृत्व गरिरहेका ओली दुई दिनकै आन्दोलनका कारण सडकमा पुग्ने स्थिति बन्यो। राज्यको कडा सुरक्षा घेराबाट उनी हिरासतसम्म पुगे। 

यसरी अघि बढिरहेका ओलीले पछिल्लो समय पार्टी नेतृत्वको सवालमा समेत प्रश्न, आलोचना र विवादको सामना गरिरहेका छन्। यस्तोमा ओली फागुन २१ को निर्वाचनपछि पहिलो पटक झापा पुग्नुलाई समेत अर्थपूर्ण मानिएको छ। 

पार्टीमा दबाब

नेकपा एमालेभित्र केपी ओलीलाई नेतृत्वबाट हट्नुपर्ने दबाब बढ्दो छ। ओलीविरुद्ध नेता कार्यकर्ताहरुले हट्नुपर्ने दबाबका साथै देशभरबाट आएको सुझावको आधारमा समेत उनलाई नेतृ्त्व छाड्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाइएको बताइन्छ। ओलीलाई नेतृत्वबाट हट्नुपर्ने सुझाव दराजमै थन्किएपनि उनी अब यो प्रतिवेदनलाई केन्द्रीय समितिमा लगेर फेस गर्ने गरि अघि बढेका छन्।

पार्टी सचिवालयमा अल्पमतमा परेका ओलीले केन्द्रीय समितिबाट बहुमत सिद्ध गरेर देखाउने गरि तयारी गरेपछि नै उनी गृहजिल्लातर्फ हिडेका हुन्। उनले झापामा नेता कार्यकर्तासंग भेटवार्ता गर्ने बताइएको छ भने उनी इलामतर्फ लागेका हुन् ।

अभियानमा सक्रिय

चन्द्रगढी विमानस्थलमा ओर्लिएका ओली त्यहिबाट इलामको फिक्कल पुगेका छन्। ओलीले त्यहाँ लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गरेका छन् । कार्यक्रममा इलाममा रहेका एमालेका नेता तथा कार्यकर्तासमेत सहभागी भएको बताइन्छ। शनिवार इलाममै बस्ने ओलीले पाँचथर, ताप्लेजुङका अगुवा कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहको छ । 

इलामपछि ओली आइतबार झापा पुग्ने र झापाबाट मिसन जागरण अभियानको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ। नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी मिसन जनजागरण अभियान सुरु गरेको हो । यो अभियान झापाबाट सुरु भएर ७ सय ५३ वटै पालिकाका वडा तहसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।

ओली रणनीति

अध्यक्षबाट हट्न आएको दबाबलाई ओलीले सहज पार लगाउनका निम्ति एकताको समेत प्रयास गरिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीसंग एकताको तयारी गरिरहेका ओलीले प्रचण्डलाई संसदीय दलको नेता र आफू पार्टी अध्यक्ष बनेर अघि बढ्ने गरि प्रस्ताव गरिरहेका छन्। 

प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत प्राप्त गर्ने र ओलीले पार्टी सत्ता प्राप्त गर्ने भन्दै दुबै नेताहरुले गरिरहेको तयारी पुरा होला ? प्रश्नहरु देखिन्छन्। तर, यो प्रयास तीब्र बन्द गएको बताइन्छ। यसले पनि ओली राजनीतिक रुपमा बौरिन थालेकोमा शंका देखिन्न ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update