काठमाडौँ । प्रशान्त महासागरको एउटा ठूलो क्षेत्रमा समुद्रको पानी केही डिग्री तात्यो वा चिसियो । यो सुन्दा सामान्य नै लाग्छ । तर यही परिवर्तनले हजारौँ किलोमिटर टाढाको देशमा खडेरी ल्याउन सक्छ । कतै असामान्य वर्षा गराउन सक्छ । तापक्रम बढाउन सक्छ र समुद्री सतहसम्म प्रभावित गर्न सक्छ । यिनै शक्तिशाली प्राकृतिक जलवायु घटनामध्ये हुन्– अल निनो र ला निनो । शुरुमा अल निनो र ला निनो के हो त्यो बारेमा चर्चा गरौं ।
अल निनो र ला निनो इन्सो एन्सो अर्थात् एल निन्यो साउथर्न अस्लेसनका दुई विपरीत अवस्था हुन् । अल निनो हुँदा भूमध्यरेखीय मध्य तथा पूर्वी प्रशान्त महासागरको सतहको पानी सामान्यभन्दा तातो हुन्छ । यसको प्रभावले विश्वका विभिन्न क्षेत्रमा वायुमण्डलीय परिसञ्चरण र वर्षाको ढाँचा बदल्न सक्छ । कतै बढी वर्षा र बाढी आउन सक्छ भने कतै खडेरी पर्न सक्छ । यसको विपरीत ला निनो हुँदा त्यही क्षेत्रको समुद्री सतहको पानी सामान्यभन्दा चिसो हुन्छ । यसले पनि विश्वभर मौसमको ढाँचा परिवर्तन गर्छ । तर धेरै अवस्थामा अल निनोको विपरीत प्रभाव देखाउन सक्छ । दुवै घटना केही महिनादेखि एक वर्षभन्दा बढी समयसम्म रहन सक्छन् र प्रायः एकपछि अर्को चरणमा देखा पर्छन् । यी प्राकृतिक जलवायु चक्र जलवायु परिवर्तनका कारण उत्पन्न भएका होइनन् । तर पृथ्वी पहिले नै तातिरहेको अवस्थामा यिनले ल्याउने तापक्रम, वर्षा र समुद्री प्रभावहरू अझ गम्भीर बन्न सक्छन् ।
अहिले यी दुई जलवायु चक्र फेरि चर्चामा छन् । वैज्ञानिकहरूले हालै गरेको नयाँ अध्ययनले अल निनो र विश्वको औसत समुद्री सतहबीचको सम्बन्धबारे निकै महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ । जर्नल अफ जियोफिजिकल रिसर्चः ओसन्समा प्रकाशित अध्ययनले सन् २०१४ देखि २०१६ र २०२३ देखि २४ का शक्तिशाली अल निनो घटनाको तुलना गरेको छ । अध्ययनअनुसार २०१४ देखि १६ को अल निनो विकासका क्रममा विश्वको औसत समुद्री सतहको अन्तरवार्षिक वृद्धि करिब ९.१६ मिलिमिटर थियो । २०२३ देखि २०२४ मा भने यो वृद्धि ७.७० मिलिमिटर थियो । तर २०२३ देखि २४ को वृद्धि तुलनात्मक रूपमा छोटो समयमा भएको थियो भने समुद्री सतह बढ्ने गति निकै तीव्र थियो । छोटो समयमै पनि समूद्री सतह बढ्नुका मुख्य २ कारण रहेका छन् । पहिलो, समुद्रको पानी तात्दा फैलिन्छ जसलाई स्टेरिक समुद्री सतह वृद्धि भनिन्छ । दोस्रो, जमिनमुनिको पानी र बरफ पग्लिएर समुद्रमा पुगेपछि समुद्रको पानीको मात्रा बढ्छ । यसलाई ब्यारोस्टाटिक समुद्री सतह वृद्धि भनिन्छ । र, नयाँ अध्ययनले एउटा के महत्वपूर्ण कुरा देखाएको छ भने यी दुवै अल निनो घटनामा समुद्री सतह बढाउन जमिनबाट समुद्रमा पुगेको पानीको योगदान सबैभन्दा ठूलो थियो ।
२०१४ देखि १६ मा करिब ६.२० मिलिमिटर र २०२३ देखि २४ मा करिब ६.२६ मिलिमिटर वृद्धि यही कारणसँग जोडिएको थियो । २०२३ देखि २४ को घटनामा दक्षिण अमेरिका र अफ्रिकामा जमिनमा सञ्चित पानी तीव्र रूपमा घटेको देखियो । दक्षिण अमेरिकामा कम वर्षाका कारण जमिनमा रहेको पानी घट्दा समुद्रतर्फ पानीको स्थानान्तरण बढेको थियो । यसमा हिन्द महासागर पनि जोडियो । अल निनोसँगै सकारात्मक इण्डियन ओसन डाइपोल सक्रिय हुँदा हिन्द महासागरको केही क्षेत्रमा असामान्य तापक्रम देखियो । यसको प्रभाव दक्षिण एसियाको मौसम र मनसुन प्रणालीमा पनि पर्न सक्छ । त्यसैले यही कारणले अल निनो प्रशान्त महासागरको मात्रै समस्या होइन । यो विश्वको मौसम प्रणालीसँग जोडिएको प्राकृतिक जलवायु प्रक्रिया हो । यसले कतै अत्यधिक वर्षा र बाढी निम्त्याउन सक्छ । कतै खडेरी र पानीको संकट बढाउन सक्छ । समुद्री पारिस्थितिक प्रणाली, माछापालन, कृषि, खाद्य उत्पादन, वन डढेलो र तटीय क्षेत्रमा समेत यसको असर पर्न सक्छ । अर्कोतर्फ, पहिले नै बढिरहेको विश्वव्यापी तापक्रमका बीच शक्तिशाली अल निनो आयो भने तापक्रम अझ माथि जान सक्छ । तर एउटा कुरा स्पष्ट हुनुपर्छ भने अल निनो आफैँ जलवायु परिवर्तन भने होइन । यो एउटा प्राकृतिक जलवायु चक्र हो । तर मानव सिर्जित विश्वव्यापी तापक्रम वृद्धिले यसको प्रभावलाई अझ गम्भीर बनाउन सक्छ ।
२०२६ सबैभन्दा ठूलो चासो !
अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन नोआको जुलाई २०२६ को आधिकारिक मूल्याङ्कनअनुसार अल निनो सक्रिय छ र वर्षको अन्त्यसम्म अझ बलियो हुने अनुमान गरिएको छ । त्यस्तै जुलाईको नोआ विश्लेषणले प्रारम्भिक २०२७ सम्म कायम रहने सम्भावना पनि अत्यन्त उच्च देखाएको छ । नोआ सम्बन्धित अनुसन्धान प्रणालीका जुलाई पूर्वानुमानहरूले त यो घटना ऐतिहासिक रूपमा यो शताव्दीकै निकै शक्तिशाली हुनसक्ने संकेत गरेका छन् । त्यसैले अब अल निनोलाई एउटा समुद्र तात्ने घटना भनेर बुझ्नु हुँदैन ।
यो समुद्र, वायुमण्डल, वर्षा, जमिनमा सञ्चित पानी, कृषि, अर्थतन्त्र र मानव जीवनसम्म जोडिएको विश्वव्यापी जलवायु सञ्जालको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । समुद्रमा सुरु भएको एउटा परिवर्तनले संसारको अर्को कुनामा समते मौसम बदल्न सक्छ । यो प्रश्न समुद्र कति तात्यो भन्नेमा मात्रै सीमित छैन । तातिएको समूद्रको तापले हाम्रो मौसम, हाम्रो पानी र हाम्रो भविष्यलाई कति बदल्दैछ भन्ने प्रश्न अब विश्वव्यापी बनेको छ ।
