News 24 Television
जनताको विश्वास घट्नुमा दोषी को ?

काठमाडौं । वामपन्थी जनमत उल्लेख्य भएपनि बौरिन सकेनन् । उनीहरुको प्रश्न एउटै छ, सामाजिक सुरक्षादेखि पूर्वाधार क्षेत्रमा कायापलट गरेपनि हामी किन जनताबाट टाढिदै गयौं ? समीक्षा आवश्यक छ। तर, नेताहरुको कार्यशैली, शासकय मातलाई भने उनीहरुले खास वास्ता गर्ने गरेको देखिन्न । 

नेपालमा वामपन्थीहरुले बहुमत प्राप्त गरेका छन्। उनीहरुले जनताबाट अगाध विश्वास आर्जन पनि गरेका छन्। तर, राजनीतिक विचारधारा, उद्देश्य र कार्यशैलीमाथिका प्रश्नलाई राजनीतिक नैतिकतासंग जोड्न नसक्दा उनीहरु विस्तारै खुइलिदै गएका छन्। 

नेतृत्वमा नपुगुन्जेल प्रश्न र आलोचना चर्को गर्ने र नेतृत्वमा पुगिसकेपछि प्रश्न र आलोचना सहनै नसक्ने रोगका कारण पनि नेताहरु एक्ला बन्न पुगेको देखिन्छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूला संघर्ष र बलिदानीका निम्ति अग्रपंक्तिमा आउने वामपन्थी दल र नेताहरुले किन विश्वास आर्जनभन्दा क्षयीकरण भोग्ने स्थिति बन्यो ? समीक्षा आवश्यक रहेको बहस शुरु भएको छ। 

प्रश्न सामूहिक र सबै वामपन्थी दलको हकमा लागू हुन्छ। उनीहरु नेतृत्वमा आफैमात्रै सहि जसरी व्यवहार प्रदर्शन पनि गर्ने गर्छन्। स–साना विचारधारात्मक विषयमा पार्टी विभाजनसम्म पनि पुग्छन्। तर, सत्ताको सौदाबाजी भने विचार तथा दृष्टीकोण नै नमिल्ने कांग्रेससंग पनि गरिदिन्छन्। यस्तोमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको तर्क छ, तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन हघि बढौं।

वामपन्थी वृत्तमा चलिरहेको बहस र आलोचनाको चुली भने अग्लो बन्दै गएको छ। सरकारमाथि निर्मम पेश हुने र शब्दजालमा नयाँपना समेत दिन सक्ने नेताहरुले अहिलेको सरकारकै कारण जनमत सिर्जना हुने पनि दाबी गरिरहेका छन्। अहिलेको सरकारलाई लफङ्गाहरुको शासन समेत भन्न थालिएको देखिन्छ।

पार्टी चहार्दै नेकपा संयुक्तमा पुगेका भुसाल विद्वान नेता हुन्। तर, उनको विचारको पछिको जनमत भने कतै उपस्थित देखिन्न। एमालेहुँदै नेकपा एस र चुनावी गठबन्धनसम्म पुगेका उनी सर्वज्ञानी नेता ठान्छन्। तर, जनताको विश्वास आर्जन हुन सकेको भने देखिन्न। तर, राजनीतिक विश्लेषण भने उनले रोचक ढंगले गर्ने गर्छन्। उनी भनिरहेका छन्, रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छ।

भुसालले यस्तो भन्नुको एउटै अर्थ हो, पुराना अनुहारका कारण वामपन्थी वा कांग्रेस खुम्चिन पुगे। युवा आए ठिक हुन्छ। यद्यपी बहस भने तन्किदै गएको देखिन्छ। यद्यपी जनमत वामपन्थीविरुद्ध गएको स्वीकार भने गरेको देखिन्छ। नेपाली कम्युनिस्ट पार्टीका नेता शक्ति बस्नेत पनि परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न नसकिने निष्कर्षमा पुगेका छन्।

तर, जनमत भड्किनुको कारण कसरी खोजिन्छ ? यो भने जवाफ नआइसकेको विषय बनेको छ। के वामपन्थी दल र नेताहरुले जनतामुखी बन्ने प्रण गर्लान ? बलिदानी र संघर्षका गाथाजस्तै राजनीतिक बाटो देखाउने काम गर्लान ? फेरिएको विश्व परिस्थितिअनुसार आफूलाई उभ्याउलान ? यीनै प्रश्नको जवाफसहित वामपन्थी जनमतको आगामी दिशा तय हुनेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update