News 24 Television
मानार्थ महारथीको सम्मान लिन सेठ नेपालमा, सीमा विवाद सुनाउने अवसर !

काठमाडौं । नेपाल–भारतबीच सन् १९५० देखि एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथी दिने परम्परा छ । यही परम्पराअनुसार भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ पाँचदिने भ्रमणमा काठमाडौं आएका छन् । भारतसँगको सीमा विवादका कारण पनि उनको भ्रमणलाई चासोका साथ हेरिएको छ । 

भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आइतवार काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठ पाँच दिन यहाँ रहनेछन् । 

सेनाप्रमुख बनेयताकै पहिलो विदेश भ्रमणमा क्रममा सेठ नेपाल आएका हुन् । नेपाल बसाईका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिनेछन् । सोमबार शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । 

नेपाल र भारतबीच एक–अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने परम्परा रहेको छ ।  प्रधानसेनापति सिग्देलले २०८१ मंसिर २७ गते भारतीय सेनाको महारथी सम्मान लिएका थिए । भारतीय राष्ट्रपति द्रौपती मुर्मुले उनलाई उक्त उपाधि दिएकी थिइन् । गत जुन ३० मा भारतीय स्थल सेना प्रमुख नियुक्त भएका हुन् । 

काठमाडौंमा रहँदा सेठले नेपाली समकक्षी सिग्देलसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । रक्षामन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेटवार्ताको सम्भावना रहेको बताइएको छ । 

नेपाल–भारतबीच सन् १९५० को मैत्रीसन्धिपछि एक–अर्काका सेना प्रमुखलाई मानार्थ महारथी प्रदान गर्ने चलन शुरु भएको हो । पहिलोपटक भारतका तत्कालीन सेनाध्यक्ष जनरल केएम परिअप्पालाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । सन् १९६९ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो । 

भारतीय सेनाले नेपाली सेनालाई पूर्वाधार, तालिम, अभ्यास, प्रविधि हस्तान्तरण र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । राष्ट्रिय प्रतिरक्षा तालिम एनडीसीमा भारतले उपलब्ध गराउने कोटामा नेपाललाई प्राथमिकता दिँदै आएको छ । 

नियमित रूपमा हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणले दुई सेनाबीचको सम्बन्ध सुदृढ बनाउन भूमिका खेलेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति कार्य, आर्मी कमान्ड तथा स्टाफ कलेज, माउन्टेन र जंगल वारफेयर तथा प्यारा बेसिक तालिममा पनि भारतीयसहित विभिन्न देशका सैनिक सहभागी हुँदै आएका छन् । तर विज्ञहरूले सेठको भ्रमणलाई परम्पराको निरन्तरतामा मात्रै सीमित गर्न नहुने बताएका छन् । 

नेपालको पछिल्लो राजनीतिक परिवर्तन, एक वर्षअघि जेनजी आन्दोलनपछि देखिएको सुरक्षा रिक्तता तथा अमेरिका–चीनबीचको विश्वव्यापी सामरिक प्रतिस्पर्धाको प्रभावका कारण भ्रमणलाई विशेष अर्थमा हेरिएको उनीहरूको भनाइ छ । 

नेपालको चासो सीमाको विषयमा हो । सेठ सुरक्षा मामिलामा बढी सरोकार राख्ने अधिकारी भए पनि सीमा समस्यामा नेपालले आफ्नो चासो कसरी राख्छ भन्ने कुरा महत्वपूर्ण छ । 

त्यसैले उनले हस्तान्तरण गर्ने दुई थान सामग्रीमा रमाउनेभन्दा पनि सरकारले आफ्ना असन्तुष्टि र चासोका विषय स्पष्टसँग राख्न सक्नुपर्छ ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update