News 24 Television
ओलीको नेतृत्व नछाड्ने दृढ अडान, अनुशासनमा नबस्ने भए पार्टी छाड्न चेतावनी

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक राजनीतिक विवादको तरङ्ग बढिरहेको छ। वामपन्थी वाहुल्य जनमतदेखि संकटसम्म आइपुग्दाको स्थितिलाई नेताहरुले अनेक लेपन त लगाइरहेका छन्। तर, नेतृत्वको हानाथाप बढिरहेको छ। यस्तोमा एमालेभित्र चलिरहेको पुनर्गठनको प्रयासमा अध्यक्ष केपी ओली निर्मम पेश हुन थालेका छन् । 

केपी ओली २०७२ देखि जेनजी आन्दोलनअघिसम्म ४ पटक प्रधानमन्त्री बने। ओलीको पहिलो कार्यकाल ९ महिनाको थियो। २०७२ असोज २५ गतेदेखि २०७३ साउन १९ सम्म उनी पहिलो पटक प्रधानमन्त्री बने । त्यसपछि ओली शक्तिशाली सरकारको नेतृत्व गर्ने गरि २०७४ पुस ३ गते प्रधानमन्त्री नियुक्त भए । 

आन्तरिक विवादका कारण उनले २०७८ वैशाख ३० गते पद गुमाए । संसद विघटनकैबीच ओली ३० गते नै ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भए तर, असार २९ गते अदालतको आदेशमा उनी पदमुक्त भए। यसरी तीन कार्यकाल विताएका ओलीले फेरि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेससंग गठबन्धन गर्दै २०८१ असार ३१ गते प्रधानमन्त्री नियुक्त भए। जेनजी आन्दोलनकजा कारण २०८२ भदौ २६ गते राजीनामा दिएर बाहिरिन बाध्य बने। यी सबै घटनाको फेहरिस्त ओलीको सत्ता नेतृत्वका निम्तिमात्रैे भने होइन्। एमालेभित्रै ओलीविरुद्धको जनमत सिर्जना गर्न महासचिव शंकर पोखरेलले कसरी प्रहार गरेका छन भन्ने दर्शाउनलाई हो। 

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै मनमोहनको ९ महिने अल्पमतको सरकार र ओलीको पहिलो कार्यकाल अर्थात २०७२ को सरकारबाहेक वामपन्थी सरकारको नेतृत्वले जनमत बढाउने काम गर्न नसेकेको ठाडो चुनौती दिनु । किन शंकरले यस्तो चुनौती दिए  यसको दृष्टान्त समेत रोचक छ । 

अहिले एमाले अध्यक्ष केपी ओली झापा–इलामबाट सक्रियता बढाउदै छन्। ओलीले इलाममा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष हटाउने गफ पार्टी कार्यालयको क्यान्टिनमा गर्ने ? अनुशासनमा नबस्नेहरुलाई कारबाही गर्छु भनेका छन्। 

ओलीले आफ्नाविरुद्ध उत्रिएकालाई कारबाहीको चेतावनी दिएको सन्दर्भमा शंकरले प्रतिउत्तरका निम्ति सामाजिक सञ्जालमा लामो सन्देश लेखेर ओलीलाई काउन्टर दिएका हुन्। अब शंकरले के लेखेका छन् ? 

’नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा आमरुपमा कमजोर देखिए । अखिर किन ?’ शीर्षक दिएर शंकरले ओलीलाई काउन्टर दिएका छन्। उनले भनेका छन्, अर्थराजनीतिको विषय उपेक्षित बन्न पुग्यो। सरकारमा हुँदा शक्ति क्षयीकरण भयो ।

देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षामा पर्याप्त काम भएपनि जनमर्थन बढ्नुको साटो घट्यो। २०५१ को मनमोहन र २०७२ मा केपी ओलीको सरकारबाहेक कुनै वामपन्थी सरकारले जनमत बढाउन सकेनन्। २०८२ को निर्वाचनको धक्काले सोच्नैपर्ने बाध्यता सिर्जना ग¥यो । 

यसरी बुँदागत रुपमा कमजोरी केलाएका शंकरले ओलीलाई अझं अघि बढेर चुनौती दिएका छन्। उनले लेखेकै कुरालाई अझैं हेरौं, जस्ताको त्यस्तै । ’यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिष्ट पार्टीसंग किन टाढिए ? 

किन नेता र कार्यकर्तामा सामाजिक परिवर्तन प्रतिको हुटहुटी सिथिल भयो ? भन्ने कुराको निर्मम समीक्षा नगरी कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव छैन।’ थप लेखेका छन्, ’हरेक समस्याका पछाडी कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यस्मै निहित हुन्छ । यो माक्र्सवादी मान्यता हो । तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो ।’ यसरी हेर्दा शंकरले ओलीलाई पर्याप्त जवाफ दिएका छन्। तर, ओली यस्तो कुरा स्वीकार गर्न तयार भने देखिन्नन्। 

किन शंकर आक्रोशित बने ?

पार्टी पुनर्गठनका निम्ति रामबहादुर थापा ’बादल’को नेतृत्वमा समिति गठन भएको छ। समितिमा महासचिव शंकर पोखरेल पनि सदस्य छन्। यो समितिले सुझावका निम्ति विभिन्न प्रदेशमै पुुगेर तथ्य लियो। यहि कार्यक्रमको सिलसिलामा विष्णु पौडेल सुर्खेतबाट पक्राउ नै परे। यसरी संकलित सुझावअनुसार शंकरले प्रतिवेदन लेखेर ओलीलाई बुझाइसकेका छन्। ओलीले आफूलाई नेतृत्वबाट हट्नुपर्ने सुझाव आएको भन्दै तयार पारिएको प्रतिवेदनलाई थन्क्याइदिए ।

यतिमै नरोकिएका ओलीले संयोजक बादललाई पुनर्लेखन गर्न निर्देशन नै दिएको बताइन्छ। यता, ओलीले केन्द्रीय समितिमा गएर फेस गर्ने गरि समेत तयारी गरिरहेका छन् । तर, ओलीले कडा रुपमा पेश हुन थालेपछि ओलीको पहिलो कार्यकालबाहेकका सरकारका नेतृत्व काम लाग्ने भएनन भन्ने निष्कर्ष शंकरले सार्वजनिक गरेका छन् । 

यतिमात्रै नभई शंकरले निर्मम समीक्षाको माग गरिरहेका छन्। भने कारण पत्ता लगाउनुपर्ने भन्दै ओलीलाई जिम्मेवार ठह¥याउने प्रयास गरिरहेका छन्। तर, ओली स्वीकार गर्ने स्थितिमा देखिन्नन् ।

किन ओली आक्रामक ?

एमालेको विधानतः आफू चुनिएको र हटाउने पनि विधि हुने ओलीले जिकिर गर्दै आएका छन्।  लज्जापूर्वक आफूमाथि षडयन्त्र भएको ठानेका ओलीले सचिवालयमा विष्णु–शंकरहरुले क्याम्पिएन नै चलाएको बुझेका छन्। 

यतिमात्रै नभई अलोकप्रिय हुँदाहुँदै पनि ओलीले शंकरलाई महासचिव निर्वाचित गराएको विषय समेत स्मरण गर्दै नताहरुसंग गुनासो गर्ने गरेको बताइन्छ । यस्तो स्थितिमा ओलीले पुनर्गठनलाई पन्छाउने र आफूलाई नेतृत्वमा स्थापित गराउने प्रयासलाई जोड दिइरहेका छन्। 

यसकारण पनि एमालेको आन्तरिक राजनीति थप रोचक बन्ने देखिन्छ। ओलीले एकतामार्फत भएपनि आफुलाई अध्यक्षमा टिकाउने र केहि शीर्ष नेताहरुलाई देखाउनकै लागि भएपनि कारबाही गर्न सक्ने सम्भावना देखिन्छ। तर, नेताहरुले यसलाई कसरी अघि बढाउछन भन्ने चासो भने व्यापक छ। 

ओलीको त्यो अभिव्यक्ति

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा असार १४ गते काठमाडौंमा कार्यक्रम आयोजना गरियो। त्यो कार्यक्रममा ओलीले कांग्रेसलाई विभाजनमा पु¥याउन षडयन्त्र गर्नेहरु एमालेभित्र पस्न खोजेको दाबी गरे। ओलीले कांग्रेसको विशेष महाधिवेशनपछिको स्थितिलाई संकेत गर्दै एमाले फुटाउने प्रयास चलेको भनेका थिए।

ओलीले यस्तो भन्नुको अर्थ आफूविरुद्ध पार्टीमा चलिरहेको घेराबन्दी नै थियो। त्यो कुरा विस्तारै बाहिर आउनेक्रम बढेको छ। असारको मध्यतिरकोभन्दा साउनको अन्त्यतिर विवाद बढि सतहमा आइरहेको छ। तर, ओलीले त्यो बेलादेखि नै संकेत भने गर्दै आएका थिए। यो क्रम रोकिएला वा एमालेभित्रको आन्तरिक विवादले आकार ग्रहण गर्ला ? यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update