News 24 Television
रास्वपा चुनावमा होमियो, अरु विवादमा पर्दा रास्वपालाई कति प्रभाव ?

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ९ महिना बाँकी छ । तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी तयारीमा जुटेको छ । गत बर्ष फागन २१ को प्रतिनिधिसभा चुनवामा १८२ सिटका साथ भारी जनमत पाएको रास्वपा स्थानीय तहको चुनावमा होमिएको हो । 

महिनौँ अघि चुनावी तयारीमा होमिएको रास्वपाले संघमा जस्तै स्थानीयमा पनि जनमत हात पार्ला ? उम्मेदावर छनोट कसरी गर्छ ? अन्य राजनीतिक दल के गर्दैछन् । थप चर्चा गर्दैछन् । 

के संघ मा जस्तै स्थानीय तहमा पनि रवि र बालेनको जादु चल्ला ? स्थानीय तहको चुनाव आउन ९ महिना अघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने चुनावी तयारीमा जुटिसक्यो । सभापति रवि लामिछाने चुनावी तयारीमा होमिएका छन् । प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह‘बालेन’ले राजकाज चलाइरहेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा रविले स्थानीय तहको चुनावमा दबदबा कायम गर्नेगरी विशेष घोषणा गरे । त्यो हो, क्यान्डिडेट क्लव । 

देशभरका ७५३ स्थानीय तहमै उम्मेदवार हुन चाहाने रास्वपाका नेता कार्यकर्ताले क्यान्डिडेट क्लवमा अनिवार्य भाग लिनुपर्ने प्रावधान बनाइएको छ । ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका, ४६० गाँउपालिका र ६७४२ वडा गरी ३५,२२१ पदका आवेदन खुलाएको हो । त्यसका लागि रास्वपाले अनिवार्य क्यान्डिडेट क्लवमा औपचारिक आवदेन दिनुपर्ने हुन्छ । रास्वपाको तर्फबाट स्थानीय तहको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य बन्न के के गर्नपर्छ ? त्यो जानौँ !

रास्वपाले प्राइमरी इलेक्सन मार्फत् उम्मेदवार छनोट गर्ने निति र विधि अबलम्बन गरेको छ । त्यहि विधिलाई प्रमुख हतियार बनाएर रास्वपाले दक्ष उम्मेदवार छान्ने र चुनावी माहोल बनाउने गर्छ । महामन्त्री विपिन कुमार आचार्यले तयार पारेको ‘स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार स्थानीय तहको उम्मेदवार बन्न चाहने सम्पूर्ण आकाङ्क्षीहरूका लागि योग्यता, क्षमता र पारदर्शी मूल्यांकनमा आधारित भएर तीन वटा प्रक्रिया अनिवार्य गरिएको छ । 

रास्वपाले उम्मेदवार छनोट कसरी गर्छ ? 

पहिलो स्टेपः क्यान्डिडेट क्लवमा अनिवार्य सहभागी 

रास्वपाले उम्मेदवार बन्ने आकांक्षीलाई अनिवार्य रुपमा क्यान्डिडेट क्लवमा सहभागि हुने प्रावधान बनाएको छ । साथै, क्यान्डिडेट क्लवमा पनि पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब राखिएको छ । जुनमा उम्मेदवार बन्न चाहेको हो त्यसैमा सहभागि हुनपर्ने हुन्छ । जुन खुल्ला भइसकेको छ । 

दोस्रो स्टेपः लिडरसिप एकेडेमी प्रशिक्षण 

रास्वपाको लिडरसिप एकेडेमी प्रशिक्षण तथा परीक्षणमा नेतृत्व क्षमता, वैचारिक स्पष्टता र स्थानीय प्रशासनसँग सम्बन्धित विषयहरूमा केन्द्रित भई २५ प्रतिशत अंकभारको मूल्यांकन गरिन्छ । जहाँ स्थानीय शासन र प्रशासन, संविधान र नीतिगत स्पष्टता, विकास योजना तथा सुशासन, आधुनिक प्रविधि र साक्षरता राजनीतिक संस्कार जस्ता विषयमा परिक्षण हुन्छ । 

तेस्रो स्टेपः  रूपरेखामा आधारित परीक्षण

रास्वपा स्थानीय तहको उम्मेदवार छनोटको तेस्रो स्टेपमा ७५ प्रतिशत काम हुन्छ । जहाँ पोलिटिकल प्रोक्सिमिटी र राजनीतिक आचरणमा २५%, समाबेशीमा १० % र प्रारम्भिक निर्वाचन÷प्राइमेरी इलेक्सन मार्फत् ४० प्रतिशत मुल्याङ्कन गरिने प्रावधान छ । राजनीतिक आचरणमा पार्टीमा दिएको योगदान, पार्टीको राजनीतिक तथा बैचारिक स्पष्टता जस्ता विषयमा स्पष्ट हुनुपर्छ । समाजका विभिन्न वर्ग, लिङ्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि समावेशिता पनि महत्वपूर्ण मानिन्छ । 

मुख्यगरी प्राइमरी इलेक्सनले उम्मेदवार छनोटमा ठुलो भुमिका खेल्ने गर्छ । यो भनेको सम्बन्धित वडा र पालिकाका पार्टी सदस्यले मतदान मार्फत आफुले मन परेको उम्मेदवार छान्ने प्रक्रिया हो । 

यी सबै चरण सकिएपछि रास्वपाले सर्टलिस्ट र मार्फत् अन्तिम रुप अर्थात् आधिकारिक उम्मेदवार छनोट गर्न तयारी गरेको छ । गत बर्ष फागुन २१ को प्रतिनिधिसभा चुनावमा १८२ सिट सहित झण्डै दुई तिहाई जनमत पाएको रास्वपाको स्थानीय तहमा शुन्यको स्थिति छ । 

रास्वपा पार्टी स्थापना नै पछिल्लो स्थानीय तहको चुनाव पछि असार ७ मा भएको थियो । यसपटक रास्वपा संघमा जस्तै स्थानीयमा पनि क्लिन स्वीप गर्ने रणनीतिमा होमिएको छ । तर चुनौती बढ्दै गएको छ । सरकारको काम गराई र डेलिभरीमा जनता सन्तुष्ट बन्न सकिरहेका छैनन् । त्यसैले पनि अहिले देखि नै चुनावी माहोल बनाएर परम्परगत रानीतिक दललाई स्थानीय तहमा पनि पछार्ने खेलमा रास्वपा लागेको बुझ्न कठिन छैन् । 

कांग्रेस, एमाले, नेकपा र अन्य दल के गर्दैछन् ?

रास्वपा महिनौ अगाडी देखि नै स्थानीय तहको चुनावी तयारीमा होमिदा परम्परागत राजनीतिक दल कांग्रेस, एमाले र नेकपा भने आन्तरिक किचलोमै छन् । राप्रपा, श्रम संस्कृति र मधेस केन्द्रीत राजनीति दललाई चुनावले छोएको छैन । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा र सभापति गगन थापा पक्षको विवादमै अल्झिरहेको छ । एमाले अध्यक्ष केपी ओलीको विकल्प र पुस्तान्तरणको विवादमै रुमलिएको देखिन्छ । 

नेकपामा पनि पुस्तारन्तरण र नेतृत्व दबाबले एमालेसँग सहकार्यमा होमिएका छन् । यस्तो अवस्थामा अन्य सबै राजनीतिक दललाई चुनौती दिदै रास्वपा स्थानीय तहको चुनावमा लागि परेको देखिन्छ । स्थानीय तहको चुनावमा होमिन हतारो गरेको रास्वपाले जनमत कस्तो पाउला हेर्न लायक हुनेछ । 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update