काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल आक्रामक बन्दै गएका छन्। अर्यालले संसदमा रुलिङदेखि सांसदहरुलाई कस्न थालेका छन्। संसदीय मर्यादाको पाठ पढाउँदै अघि बढिरहेका सभामुख अर्यालको चुनौती र संसदलाई चलायमान बनाउने मुख्य जिम्मेवारी पनि अघि देखिएको छ।
सभामुख डीपी अर्याल सत्तापक्षकै धङ्धङ्गीमा देखिन्थे। सत्तापक्षकै जस्तो देखिदा उनको भूमिकामाथि प्रश्न पनि उठे। प्रतिपक्षी दलका सांसदहरुले सभामुखले पदीय मर्यादा पुरा गर्न नसकेको गम्भीर आरोप पनि लगाए। यसका पछाडीका कारण थिए, प्रधानमन्त्री वालेन्द्र शाहले संसदप्रति देखाएको व्यवहार, अभिव्यक्ति ।
सभामुखले दबाब झेल्नुसम्म झेले तर, अन्ततः उनले सकने स्थियि नै नबनेपछि प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिए ।
सभामुखले यतिमात्रै गरेनन्, नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले संसदमा उठाएका प्रश्नको जवाफ तीन दिनभित्र दिन सरकारलाई निर्देशन पनि दिए।
सभामुखले आक्रामक ढंगले रुलिङ गर्न थालेपछि परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा सहभागी भएर आशिका तामाङले प्रश्न उठाएका विषयमा जवाफ दिन गभिए। मन्त्रीको जवाफमा आशिकाले प्रतिप्रश्न गर्न खोजिन।
मन्त्रीलाई क्रस गरेर प्रतिप्रश्न गर्न खोज्दा सभामुखले हस्तक्षेप गर्दै संसदीय मर्यादामा बस्न निर्देशन दिए। सभामुखको निर्देशनपछि आशिका रिसाएर संसद बैठक नै बंक गरिन्।
संसद सञ्चालनमा देखिएका समस्यालाई समाधान गर्न सभामुख आक्रामक बन्न खोजेको देखिन्छ। संसदको आकस्मिक समयमा रास्वपाकै सांसद सुलभ खरेलले पार्टीले चुनावमा उम्मेदवार खोजेको भन्दै बखान गर्न खोज्दा पनि अघि बढ्न दिएनन्। यसरी सभामुखले आफ्नो भूमिकालाई केहि प्रष्ट पार्दै लगेका छन्।
सभामुखको सक्रियता किन ?
सभामुख संसदको नेता हो। संसदले प्रधानमन्त्री बनाउने, हटाउने गर्न सक्छ। यस्तो थलोको नेता पनि भएकाले सभामुखले आफ्नो भूमिकालाई थप आक्रामक बनाउदै लगेका छन्।
संसदमा प्रश्न उठ्ने सरकारमाथि हो। रत, कतिपय अवस्थामा सभामुखले आफ्नो भूमिका, कार्यक्षेत्र र क्षेत्राधिकारको प्रयोग गर्दै संसदलाई थप मर्यादीत र सभ्य बनाउनका निम्ति निर्णायक भूमिका खेल्नुपर्दछ। जुन भूमिका खेल्न नसकेको भन्दै उठेका प्रश्नको जवाफ दिन कस्सिएका उनको राजनीतिक छवी समेत कार्यक्षमता र कार्यशैलीले निर्धारण गर्ने भएकाले उनी आक्रामक र संसदको नियमावलीअनुसार चल्नैपर्ने स्थिति छ। कार्यकाल सफल वा असफल उनको आफ्नै क्षेत्राधिकारको प्रयोगले पुष्टी गर्ने भएकाले पनि यो उनका निम्ति अनिवार्य जस्तै बन्न पुगेको छ।
