News 24 Television
३ प्रदेशमा सत्ताको खेल, कहाँ कसको सरकार ?

काठमाडौं । सुदूरपश्चिममा मुख्यमन्त्री खगराज भट्टले ३१ सांसदको समर्थनसहित विश्वासको मत पाएका छन् भने कांग्रेस सांसद प्रकाश देउवाको पद रिक्त भएपछि विवाद चर्किएको छ । 

उता, राप्रपाको समर्थनबारे केन्द्र र प्रदेशबीच मतभेद हुँदा बागमतीमा नयाँ सरकार गठन अन्योलमा परेको छ भने कर्णालीमा मुख्यमन्त्री मंगलबहादुर शाहीले आवश्यक २१ मतसहित विश्वासको मत पाएपछि सरकार सुरक्षित बनेको छ । 

सुदूरपश्चिममा भट्टलाई विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । भट्टको पक्षमा एमालेका ११ र नेकपाका २० गरी ३१ सांसदले मतदान गरे । विपक्षमा कांग्रेसका १४ र राप्रपाका एक सांसदले मतदान गरेका छन् भने कांग्रेसका तीन सांसद बैठकमा अनुपस्थित रहे । 

तर भट्टले विश्वासको मत पाएकै दिन कांग्रेस सांसद प्रकाश देउवाको पद रिक्त भएको विषयले भने विवाद चर्किएको छ । सभामुख भीम भण्डारीले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै देउवाको पद रिक्त भएको सूचना प्रदेशसभामा सुनाएका हुन् । कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुखको निर्णयमा आपत्ति जनाउँदै बदनियत राखेर पदमुक्त गरिएको आरोप लगाए ।

कांग्रेसका अनुसार देउवा उपचारका क्रममा अमेरिकामा रहेकाले बैठकमा उपस्थित हुन नसकेको जानकारी सचिवालयलाई गराइएको थियो । तर संविधानको धारा १८०(घ) अनुसार सभालाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित भए पद रिक्त हुने व्यवस्था छ । विश्वासको मत पाएसँगै भट्ट नेतृत्वको सरकार तत्काल सुरक्षित भए पनि देउवा प्रकरणले सरकार र प्रतिपक्षबीचको सम्बन्ध थप तनावपूर्ण बन्ने देखिएको छ ।

बागमतीमा सरकार गठन अन्योल 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बहुमत जुटाउन नसकेपछि राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसपछि एमालेका किरण थापामगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थन रहेको दाबी गर्दै मुख्यमन्त्रीमा दाबी पेस गरे ।

तर दाबी पेस गरेको केही घण्टामै राप्रपा केन्द्रले आफ्ना सांसदको समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र पठाएपछि सरकार गठन प्रक्रिया अन्योलमा परेको छ । राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले प्रदेशमा समर्थन जनाए पनि केन्द्रबाट सरकारमा सहभागी हुन निर्देशन नआएको बताए । 

१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ । एमाले र नेकपाको ५१ सांसद मात्रै रहेकाले राप्रपाको समर्थन निर्णायक छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन नरहेको स्पष्ट पार्दै संलग्न सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अब प्रदेश प्रमुखले एमालेको दाबी र राप्रपा केन्द्रको अस्वीकारपत्र अध्ययन गरेर गर्ने निर्णयले बागमतीको नयाँ सरकारको टुंगो लगाउनेछ । 

कर्णालीमा के भयो ?

मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शाहीको पक्षमा प्रदेससभामा २१ मत परेको थियो भने विपक्षमा १३ मत खसेको थियो। यस्तै २ मत तटस्थ रहेको सभामुख नन्दा गुरुङले घोषणा गरिन्। 

४० प्रदेशसभामा विश्वासको मतका लागि जम्मा ३६ सांसदले सहभागीता जनाएका थिए। कर्णालीमा कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका समान १४ सांसद रहेका छन भने एमालेका १०, राप्रपाबाट १ र १ स्वतन्त्र सांसद रहेका छन्। एमाले र नेकपाबीच सरकार निर्माण गर्ने सहमतिपछि नेकपाका शाही मुख्यमन्त्री नियुक्त भएका थिए। शाहीले आफ्नो पक्षमा २१ मत प्राप्त गरेका छन्। ४० सददस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक संख्या पनि २१ नै हो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update