काठमाडौं । नेपाली कांग्रेसको विवाद उत्कर्षमा छ। कांग्रेस विवाद चर्किएको बेला संस्थापन इतर पक्ष सर्वोच्च अदालत पुगेको छ। अदालतमा १५ औम महाधिवेशन रोक्न भन्दै छुट्टाछुट्टै रिट दर्ता गराएको इतर पक्षबीच सघन छलफलहरु समेत अघि बढेका छन् ।
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावेदनको निस्सा दिएपछि इतर पक्षले अनेक गतिविधिलाई सक्रियतापूर्वक अघि बढाएको देखिन्छ। उनीहरुले छुट्टै भेला गरेर आफ्ना दृष्टिकोण नै सार्वजनिक गरिसकेका छन भने शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुने निर्णय गरेका छन्। यस्तो स्थितिमा कांग्रेसको इतर पक्षले धर्ममा समेत चासो देखाउदै फरक देखाउने प्रयास गरिरहेको बेला सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट लगिए। जसमा देउवा पक्षबाट एक र पूर्णबहादुर खड्काले छुट्टै गरेर दुई रिट पु¥याएका छन्।
उनीहरुले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको वैधतालाई बदरको माग गरेका छन्। भने, विवादको अन्तिम किनारा नलाग्दासम्म १५ औं महाधिवशनका कुनैपनि गतिविधि गर्न नदिन माग गरेका छन्। यो रिटले अन्तरिम आदेशको माग गरेकाले अदालतले कसरी निक्र्याेल गर्छ भन्ने विषयले नै धेरै कुरा थाहा हुनेछ ।
देउवा शेखर भेटवार्ता
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। देउवाको निवासमा भएको भेटमा अहिले चलिरहेका विवाद, कांग्रेसको एकता र समसामयीक राजनीतिबारे छलफल भएको शेखरको सचिवालयले जनाएको छ।
उसोतः दुई नेताहरुबीच अदालतबाट फैसला आउनेबेलासम्म पार्टी विभाजनको औपचारिक रुप नदिने, विशेष महाधिवेशन पक्षलाई गलाउने र कानूनी बाटोबाट वैधता प्राप्त गरेर महाधिवेशनमा जाने विषयमै छलफल भएको बताइन्छ। यता, देउवा पक्षले वैधता प्राप्त गर्ने स्थिति बनेमा पनि कांग्रेस विधानका कारण देउवा अब सभापति बन्न पाउदैनन्। यस्तोमा शेखरले आफुलाई नेतृत्वमा सघाउने प्रस्ताव गरिरहेको समेत बताइन्छ। तर, शेखरले प्रष्ट ढंगले आफूलाई उभ्याउन नसक्दा शंका र प्रश्नहरु भने देखिन्छन्।
वैधताको लडाई र संस्थापनको रणनीति
इतर पक्षले गरिरहेका गतिविधिलाई नियन्त्रण गर्ने गरि संस्थापन पक्ष अघि बढेको छ। सभापति गगन थापाले अनुशासन समितिमार्फत कारबाही अघि बढाउन खोज्दैछन्। अनुशासन समितिले फरक गतिविधिमा संलग्न भएका नेताहरुमाथि स्पष्टीकरणसहित कारबाहीको तयारी तीब्र पारेको छ। स्पष्टीकरण सोध्ने र केहि समयमै अनुशासनको कारबाही गर्ने गरि प्रक्रिया अघि बढेको छ।
कांग्रेसमा वैधताको लडाई पुनः अदालत प्रवेश गरेपछि यो विषय पेचिलो बन्दै गएको छ। देउवा पक्षका दुई रिटले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई दिएको मान्यता बदर र १५ औम महाधिवेशन केन्द्रित सबै गतिविधिमा रोक लगाउन गरिएको माग कसरी अघि बढ्छ भन्ने विषयले कांग्रेस विवादमा थप प्रष्टता देखिनेछ। तर, दुबै पक्षले आफ्ना रणनीतिलाई तीब्रताका साथ अघि बढाएकाले विभाजनका रेखाहरु भने प्रष्ट हुँदै गएका छन् ।
