News 24 Television
पार्टी केन्द्रीय समिति बैठक हापेर मुस्ताङतर्फ वालेन्द्र, कूटनीतिक वृत्तमा तरङ्ग किन ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङ भ्रमणमा निस्किएका छन् । वालेन्द्र शाह निजी भ्रमणको क्रममा मुस्ताङतर्फ हिडेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर, किन प्रधानमन्त्री पार्टीको केन्द्रीय समिति चलिरहेको बेला मुस्ताङतर्फ लागे ? यो भने चासोको विषय बनेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा शुरु भएको छ। रास्वपाले प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गरिसकेको छ भने उनी स्वतः केन्द्रीय समितिमा पर्छन्। यस्तोमा उनी पार्टीको केन्द्रीय समिति बैठकमा अनुपस्थित हुँदै किन मुस्ताङतर्फ लागे ? यो भने चासोको विषय बनेको छ। यतिमात्रै नभई रास्वपाले भदौ ६ र ७ गतेका लागि काठमाडौंकै पार्क भिलेजमा क्लोज क्याम्प पनि आयोजना गरेको छ। शनिवार पार्क भिलेजमा पुगेका केन्द्रीय समितिका सदस्यहरु आइतबार साँझमात्रै घर फर्किनेछन्। तर, प्रधानमन्त्री वालेन्द्र शाह भने यी सबै विषय छाडेर मुस्ताङतर्फ लागेका हुन्। 

भ्रमणको चासो र विवाद

प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङ भ्रमण जाने विषय सुरक्षा निकायलाई औपचारिक जानकारी नदिइएको बताइन्छ। तर, नेपाली सेनाको ब्यारेकमा बस्दै पोखरातर्फ हिडेका उनी बस्ने कास्कीको अन्नपूर्ण गाउँपालिकाको अस्ताममा रहेको इको भिलेज रिसोर्टमा बस्नेछन्। अहिले यो रिसोर्टमा सेनाको बाक्लो सुरक्षा गस्ति चलिरहेको छ ।

सेनाले आउजाउमै रोक लगाएको छ । यसरी कडा सुरक्षाकाबीच मुस्ताङ भ्रमणमा निस्किन लागेका वालेन्द्रले सेनालाई भने स्ट्याण्डबाई राखेको देखिन्छ । यता, वालेन्द्रको मुस्ताङ भ्रमणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद समेत रहेका नेता ज्ञानबहादुर शाहीले खम्पा गुम्बामा जाने आरोप लगाएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह निजी र व्यक्तिगत भ्रमणमा निस्किएको दाबी गरेका शाहीले खम्पा गुम्बा दर्शन गर्न गएको दाबी गरेका छन्। मुस्ताङमा रहेका गुम्बाको ऐतिहासिकता र खम्पा विद्रोहलाई सांकेतिक रुपमा शाहीले विरोध जनाएका हुन् ।

मुस्ताङका गुम्बा र अमेरिकी कूटनीतिज्ञ

अमेरिकी दूतवासमा पब्लिक अफेयर्स चिफ माइक हार्करले मुस्ताङ भ्रमण गरे । मुस्ताङको लोमान्थाङमा अमेरिकी अनुदान सहयोगमा निर्माण गरिएको चोदे गुम्बाको एक संग्राहलयको उद्घाटनमा पुगेको दूतावासले औपचारिक जानकारी उपलब्ध गराइसकेको छ भने उनले लोमान्थाङमा तीनदिन सम्म मनाइने यार्तुङ पर्वमा समेत घोडा सवारी गरेका छन्। 

अन्नबालीका सप्रियोस् भन्दै मनाइने यो पर्व लोमान्थाङमा प्रशिद्ध छ । यहाँका राजाले समेत यो पर्वमा घोडामा सवार भएर विशेष पुजा गर्ने परम्परा रहेको छ । यस्तोमा अमेरिकी दूतको यो दौड सकिएको केहिदिनमै प्रधानमन्त्री वालेन्द्र शाह त्यसतर्फ गएको विषयलाई राप्रपाका ज्ञानबहादुर शाहीले व्यङ्ग्यात्मक टिप्पणी गर्न खोजेको देखिन्छ । 

प्रधानमन्त्री कहाँ जानेछन ?

प्रधानमन्त्री वालेन्द्र शाह पोखराको रिसोर्टको बसाईपछि शनिवार नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ प्रवेश गर्नेछन्। पोखराको विजयपुर ब्यारेकमा नेपाली सेनाको अगुस्टा ६७ नामक हेलिकोप्टर स्ट्याण्डबाई राखिएको छ। उनी सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुगेर दामोदर कुण्डतर्फ जाने बताइएको छ । 

दामोदर कुण्ड मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर पर्छ। यहाँ पुग्न उपल्लो मुस्ताङको चराङ हुँदै २ घण्टाको मोटर यात्रापछि यारा गाउँ पुगिने र त्यसपछि त्यहाँबाट करिव ५ घण्टा जति घोडा चढेर ४ हजार ८ सय मिटरको उचाईमा रहेको दामोदर कुण्ड पुग्न सकिन्छ। यद्यपी वालेन्द्र कसरी त्यहाँ जानेछन भन्ने विस्तृत भने खुलाइएको छैन् । यस्तोमा प्रधानमन्त्री गुम्बाको दर्शनमा निस्किएका हुन वा होइनन् भन्ने चासोकाबीच ज्ञानबहादुर शाहीको सन्देशले तरङ्ग भने पैदा गरिदिएको छ । 

वालेन्द्र र रास्वपा

रास्वपाको केन्द्रीय समिति छाडेर मुस्ताङतर्फ हिडेका वालेन्द्र शाहले पर्यटन प्रचार गर्नका निम्ति त्यसतर्फ गएको दाबी पनि गर्ने गरिएको छ। तर, प्रधानमन्त्री बन्ने दलको केन्द्रीय समिति बैठक र क्लोज क्याम्प बंक गर्दै किन उनी त्यता लागे ? यो चासोको विषय भने बनेको छ। प्राय पार्टीका बैठक बहिस्कार गर्ने गरेका वालेन्द्र संसदीय समितिको बैठकमा पनि उपस्थित भएनन्। 

ंसदीय दलको नेताले डाक्ने बैठकको सूचना प्रमुख सचेतकहरुबाटै प्रवाह भएको थियो। तर, उनी अनुपस्थित भएपछि सभापतिले डाकेको अनौपचारिक बैठक भन्ने स्थिति सिर्जना हुनुले पनि वालेन्द्रको शैलीमाथि रास्वपामा उकुसमुकुस बढेको देखिन्छ। तर, वालेन्द्रले आफूलाई कसरी उभ्याउछन भन्ने विषय प्रमुख हुने भएकाले पनि रास्वपाको शीर्ष नेतृत्व र नेताहरु अलमलसहित विश्वास व्यक्त गर्नैपर्ने अवस्थामा हेलिएका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update