News 24 Television
लोकतन्त्रको लिकबाट बाहिरिन खोज्दै कांग्रेस, धर्मको आड लिने देउवाको संकेत !

काठमाडौं । नेपाली कांग्रेसको विवाद जसरी तन्किदैछ, त्यसले संकेत गर्दैछ– कांग्रेस कब्जाको होड लिगलिगकोटको दौड जस्तो बन्दैछ। शेरबहादुर देउवा वैधता परिक्षण गरिपाउँ भन्दै सर्वोच्च जान्छन्, यता गगन थापा पक्ष भन्छ– के अब नेता पनि अदालतले नै तोक्ने हो ? यस्तो विवादको घानमा परेको कांग्रेसको राजनीतिक भविष्य कस्तो बन्ला ? त्यो भने हेर्न बाँकी छ। 

नेपालीमा एउटा उखान छ, काम पाइनस मंगले, आफ्नै ढंगले। नेपाली कांग्रेसमा अहिले यस्तै देखिन्छ। पार्टीको आधिकारिकता विशेष महाधिवेशन पक्षधरले लिएपछि देउवा पक्षलाई अहिले यहि उखान चरितार्थ भएको छ। सर्वोच्च जाने, मुद्दा मामला गर्ने, वैधता पाइ पो हालिन्छ कि भनेर प्रयास गर्ने। तर, नतिजा के हुने हो पत्तो छैन्। 

हुनत न्यायको सिद्धान्तले आफूलाई अन्याय परेको महशुस भएमा न्याय माग्न जान भन्छ। तर, राजनीतिक मुद्दामा न्याय अन्याय आफूले के पद प्राप्त गरें भन्ने हो वा जनताले के प्राप्त गर्दैछन भन्ने हो ? यो छुट्याउनु आवश्यक हुन्छ। तर, लामो समय सत्ता र शक्तिको स्वाद पसेको कांग्रेसका नेताहरुको जिब्रो चिलाउने नै भयो। 

सर्वोच्च अदालतले कांग्रेस विवादमा आफैले गरेको फैसलामा इतर पक्षलाई नराखि सुनुवाई गरिएको भन्दै पुनरावलोकनका लागि दिएको निस्सा अहिले देउवा पक्षका निम्ति बरदान बन्न पुगेको छ। अझं, देउवाले त आफू अदालतलकै कारण नेपाल आउने वातावरण बनेको भनिसकेका छन्। 

देउवा पक्षले कांग्रेसको लोकतान्त्रिक लिगेसीमा पनि प्रश्न उठाएको छ। देउवा पक्षले सनातन हिन्दु राष्ट्रतर्फ पाइला चाल्ने संकेत गरिरहेको छ। संविधानले धर्मनिरपेक्षता अवलम्बन गरेपनि देउवा पक्षले जनमत यता पो छ कि भन्दै लिएको लाइनमा विमलेन्द्र निधिले फरक मतमात्रै राखेका छैनन्, असहमति जनाउदा डा. प्रकाशशरण महतसंग केहिबेर भनाभन र धकेलाधकेल नै प¥यो ।

कांग्रेस लोकतान्त्रिक लिकबाट बाहिरिने प्रयास गर्दै हो ? अहिलेको जवाफ होइन नै हो। कांग्रेसको वैध नेतृत्व गगन थापासंग भएकाले गगनले धर्मनिरपेक्षताविरुद्धका कुनै अभिव्यक्ति दिएका छैनन्, तर, सर्वोच्चबाट वैधता देउवा पक्षमा पुगे के हुने हो ? यो बुझ्न सहज छैन्। 

गगनले मागे समय, देउवाले दिएनन

नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवासंग भेटेर पार्टीको विवाद सु्ल्झाउने विषयमा छलफल गर्न चाहे। देउवाका स्वकिय सचिव भानु देउवासंग समय पनि मागे। तर, देउवाले हुन्छ भन्दै टारिदिए। सर्वोच्चमा मुद्दा चलिरहेको र अर्को मुद्दा पनि लगेको बेला भेट्दा राम्रो सन्देश नजाने भन्दै देउवाले भेट्न नमानेको बताइन्छ। 

यो सामान्यतयाः झगडीयाले नभेट्ने कुरालाई स्वभाविक मान्न सकिन्छ। तर, राजनीतिक रुपमा चलिरहेको विवादको समाधान अदालतबाट भन्दा पनि आपसी सहमति र छलफलबाट टुंगो लगाउन सकिन्छ भने किन नभेट्ने ? 

कि गगन थापाले भेटेर सर्वोच्चमा चलिरहेको मुद्दामा लाभ लिने स्थिति बन्ने हो ? यी कुरा प्रष्ट भन्न पनि नसक्ने र भेट्दा पनि नभेट्ने प्रवृत्तिले पार्टी सत्ता हत्याउने नेताहरुको जालमा देउवा सहजै फसेकोमा शंका देखिन्न । देउवाले भेट्ने समय नदिनुमा राजनीतिक कारण भएपनि उनले सम्वादको ढोका बन्द गर्दा कांग्रेस एकताको विषय थप कमजोर भने हुनेछ। 

कांग्रेस एकता किन आवश्यक ?

नेपाली कांग्रेस लामो लोकतान्त्रिक आन्दोलनबाट आएको दल हो। कांग्रेसले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको छ। नेता र व्यक्तिहरु फेरिने कुरा स्वभाविक पनि हो। तर, कांग्रेसको लिगेसी जुन छ, त्यसलाई जोखिममा धकेल्ने प्रयास किन हुँदैछन् ? प्रश्नहरु चासोमा छन्। कुनै पनि दल विभाजनमा जाने कुरा मुलुक र जनताको हितमा समेत हुदैन। 

यस्तोमा दलहरुले विभाजनभन्दा एकतामै जोड दिनुपर्ने बहस चलिरहेको छ। तर, कांग्रेसमा आन्तरिक विवाद, शक्ति सञ्चयको अभिलासा र सत्तामै रहिरहन गरिने प्रयासका कारण पनि यस्ता दुर्घटनाहरु हुने गरेका छन्। पछिल्लो समयको कांग्रेसको विवाद पनि विभाजनको रेखा कोर्नमै तल्लिन देखिन्छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update