काठमाडौं । गएको वुधबार आएको बाढीले परिवारका सदस्यहरु वेपत्ता बनायो। केहिले ज्यान गुमाए। वेपत्ता हुनेहरुका परिवारका सदस्यहरु अहिले पनि आफन्त भेटिन्छन् कि भन्दै भौतारिदै हिडेका छन् । कतै वेवारिसे अस्थामा रहेका शवहरु आफ्ना आफन्तका हुन कि भन्दै उनीहरु अस्पताल पनि पुग्छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अहिले यीनै पीडितहरु आफ्ना दुख, विछोड र करुणा पोख्दैछन् ।
नेपाल चीन सीमा जोड्ने क्षेत्र पनि भएकाले रसुवा धेरैको जागिरको सपना थियो। उनीहरु भन्सारमा काम गरेर भविष्य निर्माण गर्ने दाउमा हुन्थे । जागिरको सिलसिलामा पुगेकादेखि स्थानीयहरु अहिले वेपत्ता छन्। कसैको शव पनि फेला परेर पहिचान भइसकेको अवस्था छ। तर, धेरैले अस्पतालमा सुनाउने पीडाका कथाहरु भने कारुणिक छन्।
अस्पताल प्राङ्गनमा भेटिने यी अनुहारहरु प्रतिनिधिपात्र मात्रै हुन्। विहानैदेखि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा भीड बढ्छ। शव परिक्षण गर्ने ठाउँ लेखिएको बोर्डबाहिर आफन्तका आर्तनादले धेरैको मन बोझिलो हुन्छ।
आफन्तको खोजीमा पुगेका अनुहारहरु मलिनमात्रै हुन्नन, आशा पनि हुन्छ। उनीहरुले कतै आफन्त भेटिने स्थिति पो बन्छ कि भन्ने सोचेका हुन्छन्। यतिमात्रै नभई केहिले मृत्यु नै भएको भएपनि शव भेटिन्छ कि भन्दै पुग्ने गरेका छन्। बाढीको कहरले दिएको पीडाको सानो झिल्को काठमाडौंको त्रिवि शिक्षण अस्पतालबाहिरको दृश्यले धेरै कुराको संकेत गरेको छ।
शव व्यवस्थापन शुरु
बाढीका कारण ज्यान गुमाएकाहरुको शव व्यस्थापन शुरु गरिएको छ। चितवनमा पहिचान नखुलेका २२८ शव देवघाटको जङ्गलमा व्यवस्थापन गरिएको छ। शव कुहिने, सड्ने र दुर्गन्ध फैलिनुका साथै महामारीको रुप लिने भन्दै सरकारले डीएनए परीक्षणका लागि नमूना राख्दै शव गाड्ने काम शुरु गरेको छ। चितवनमा सरकारले शव व्यवस्थापन गरेको छ।
सामान्यतया मानिसहरु आफ्ना प्रियजनको शवलाई अन्तिम संस्कार गरेर बिदाई गर्न चाहन्छन्। अहिले विषम् परिस्थिति सिर्जना भएको छ। नेपालका अस्पतालहरुको क्षमताले नभ्याउने भएपछि शवहरु गाड्न थालिएको हो। शवको पहिचान हुन नसकेपछि गाड्ने काम थालिएको छ।
यसले कानूनी प्रश्न उब्जाउन सक्ने स्थितिलाई मध्यनजर गर्दै सरकारले आपतकालीन अवस्थाको प्रवन्ध भनेको छ। तर, पीडित परिवारहरुले आफन्तको शव नै पाउने स्थिति नबन्ने विषयले पीडा भने धेरै नै दिनेछ। विभिन्न धर्म संस्कृति अनुसार शवको अन्तिम संस्कार गर्ने प्रचलनअनुसार नै सम्मानपूर्वक शव गाड्न थालिएको सरकारले जनाएको छ। यद्यपी नेपालको कमजोर शव व्यवस्थापन क्षमताले नै धेरैले आफ्ना आफन्तहरुलाई अन्तिम संस्कार भने गर्न पाउने छैनन्।
पहिचान गर्न अनलाइनमै फोटो
आफ्ना आफन्तको पहिचान गर्न भन्दै सरकारले छुट्टै पोर्टल नै सञ्चालनमा ल्याएर शवको फोटोहरु राखेको छ। यसमा आफन्त चिन्नेहरुले क्लेम गर्नुपर्ने भनिएको छ। तर, शवको व्यवस्थापन गर्ने भन्दै गाड्न नै थालिएका कारण पनि ती फोटोहरुबाट कसैले आफन्तको पहिचान गरेमा के गर्ने भन्ने प्रश्न देखिन्छ। तर, सरकारले व्यवस्थापन गर्दा सांकेतिक रुपमा चिन्ह राख्ने भनेको छ।
यसरी उत्खनन गर्नुपर्ने स्थिति समेत बन्नसक्ने स्थिति देखिन्छ। तर, शवको व्यवस्थापनका निम्ति उपया खोजेर कम्तिमा पनि कानूनले तोकेको समयमा राख्न सकेमा यसले पीडित परिवारलाई ठूलो राहत मिल्नेछ।
