News 24 Television
वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकालियो

काठमाडौं । शनिवार काठमाडौं उपत्यका गाइजात्राको रौनकमा डुब्यो । नेवार समुदायले वर्षभरि दिवंगत भएका आफन्तको सम्झना गर्दै मनाउने यो पर्व जात्रा शोक, श्रद्धा, संस्कृति, सामाजिक चेतना र व्यंग्यलाई एउटै धागोमा गाँस्ने विशिष्ट परम्परा हो । भाद्र कृष्ण प्रतिपदा अर्थात् पारुको दिन मनाइने भएकाले यसलाई नेपाल भाषामा सापारु पनि भनिन्छ । 

गाईजात्राका दिन दिवंगत आफन्तको नाममा गाईको प्रतीक बनाएर नगर परिक्रमा गराउने चलन छ । कतिपयले वास्तविक गाईलाई सिंगारेर घुमाउँछन् भने कतिपयले मृतकको तस्वीर, गाईको आकृति वा बाँस तथा डोकोबाट बनाइएको प्रतीक बोकेर जात्रा निकाल्छन् । गाईको पुच्छर समातेर मृतात्माले वैतरणी नदी पार गर्न सजिलो हुने र यमलोकको यात्राबाट मोक्षको बाटो खुल्ने धार्मिक विश्वास रहेको छ । 

यो पर्वमा श्रद्धासँगै दान र सामाजिक सहभागिताको पनि विशेष महत्व छ । दिवंगत आफन्तको सम्झनामा गरिब तथा दीनदुःखीलाई खाद्यान्नलगायत सामग्री दान गर्ने र आफन्त, इष्टमित्र तथा छरछिमेकलाई बोलाएर भोज खुवाउने परम्परा छ ।

विशेषगरी पुत्रवियोगमा रहेकी रानीलाई सान्त्वना दिन मल्लकालीन राजा प्रताप मल्लले गाईजात्राको परम्परालाई व्यवस्थित गरेको मानिन्छ । 

त्यसैले यो पर्वले दुःखलाई सामूहिक रूपमा व्यक्त गर्ने अवसरसमेत दिन्छ । आफ्नो प्रियजन गुमाएकाहरू जात्रामा सहभागी हुँदै आँसु र पीडालाई संस्कृतिको उत्सवमा रूपान्तरण गर्छन् । तर गाईजात्राको अर्को महत्वपूर्ण पक्ष हो व्यंग्य । 

इतिहासमा मल्लकालदेखि नै शासक, शासन, समाज र समसामयिक विकृतिमाथि खुलेर टिप्पणी गर्ने अवसरका रूपमा यसको विकास भएको मानिन्छ । गाईजात्राका दिन राजनीतिक नेतृत्वदेखि सामाजिक विसंगतिसम्मलाई व्यंग्य, हाँसो र मुखुण्डोमार्फत प्रस्तुत गर्ने परम्परा आज पनि उत्तिकै लोकप्रिय छ । गम्भीर विषयलाई हास्यको माध्यमबाट उठाउने नेपाली समाजको मौलिक अभिव्यक्तिको रूपमा पनि गाईजात्रालाई लिन सकिन्छ । 

काठमाडौं उपत्यकासँगै बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनलगायत नेवार समुदायको बाक्लो बसोबास भएका क्षेत्रमा पनि यो पर्व मनाइन्छ ।

त्यस्तै भक्तपुरको गाईजात्राको भने आफ्नै विशिष्ट पहिचान छ । उमेर नपुगेका बालबालिकाको सम्झनामा साँचा अर्थात् डोकोलाई गाईको प्रतीकका रूपमा सजाएर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिका लागि चारवटा बाँस प्रयोग गरी बनाइने ताहामच्चा निकालिन्छ । घिन्ताङकिसी र माँक प्याखँ अर्थात् बाँदर नाचले भक्तपुरको जात्रालाई अझ जीवन्त बनाएको छ । वर्षाको मौसम सकिँदै, चाडपर्वको मौसम सुरु हुँदै गरेको संकेत पनि हो गाईजात्रा पर्व । 

गाइजात्रा खेतको रोपाइँ सकिएको समय, खुल्दै गएको आकाश र चिसिँदै गरेको बतासबीच मानिसहरू दुःख बिर्सेर हाँस्छन्, रमाउँछन् र आफ्ना कुरा निर्धक्कसँग राख्छन् । यस अर्थमा गाईजात्रा मृतकको सम्झनामा आँसु बगाउने पर्व मात्र होइन । दुःखलाई उत्सवमा बदल्ने, समाजलाई ऐना देखाउने र व्यंग्यमार्फत् सत्य बोल्ने नेपाली संस्कृतिको अनुपम पर्व हो । 

 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update