News 24 Television
बाढीपीडितलाई सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको बैंकले जनाएको हो ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले विपद्का समयमा प्रभावित समुदायलाई साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गरेको छ । बैंकले बाढी तथा विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

सिद्धार्थ बैंकले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update