काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ । थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेसँगै कम्पनीको कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुगेको हो ।
कम्पनीका अनुसार थप सहयोग रकमको चेक अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ । चेक कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले हस्तान्तरण गरेका हुन् ।
कम्पनीले विपदमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । त्यस्तै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारको पीडामा साथ दिनु सबैको साझा दायित्व भएको जनाएको छ ।
