News 24 Television
मानवीय सेवामा नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, बाढीपीडितलाई राहत वितरण

नुवाकोट । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण प्रभावित परिवारका लागि १० लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गरेको छ । उक्त राहत सामग्री बाढी प्रभावितहरु बसिरहेको क्याम्पका अध्यक्ष र सचिवलगायत संयोजकलाई हस्तान्तरण गरेका छन् । 

संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको टोली राहत सामग्रीसहित नुवाकोट पुगेको हो। विपद्को यस दुःखद घडीमा पीडित परिवारको साथमा उभिँदै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले संघले राहत अभियान सञ्चालन गरेको जनाएको छ। संघले विदुर नगरपालिका–३ देवीघाट तथा बुद्धसिंह, वडा नं. ७ का सोले र टुप्चे, वडा नं. ९ का हात्तीगौंडा तथा किस्ताङलगायतका बाढी प्रभावित क्षेत्रका परिवारलाई खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गरेको छ।

7926ab53-742a-40fc-8c01-5e7388cff909-1788424861.jpg
 

विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक संस्थाहरू तथा व्यवसायी समुदायको पनि दायित्व भएकाले आफ्नो तर्फबाट राहत अभियान सञ्चालन गरेको संघले जनाएको छ। 

संघले बाढीबाट प्रभावित व्यवसायी तथा परिवारहरूको अवस्था बुझ्दै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ । साथै संघका अध्यक्ष केशवबहादुर सुनारले बाढी प्रभावित क्षेत्रका आफ्ना व्यवसायीहरुलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update