काठमाडौं । पाँच सय वर्षभन्दा पुरानो तान्त्रिक रहस्य र सांस्कृतिक विरासत बोकेको दोलखाको हिलेजात्रा यस वर्ष पनि परम्परागत उल्लासका साथ मनाइँदैछ ।
घण्टाकर्णदेखि लाखेनाच, गाईजात्रा, कृष्णलीला हुँदै भैरव–कुमारी जात्रासम्मको श्रृंखलाले दोलखाको मौलिक पहिचानलाई जीवन्त राखेको छ ।
घण्टाकर्ण अर्थात् स्थानीय भाषामा ‘गाठं’ पर्वसँगै दोलखा बजारमा हिलेजात्राको सुरुवात हुन्छ । त्यसपछि सुरु हुन्छ परम्परा, आस्था र सांस्कृतिक प्रदर्शनको लामो श्रृंखला ।
घण्टाकर्णको भोलिपल्टदेखि लगातार १५ दिनसम्म दिउँसो जोङ डाकस अर्थात् दिउँसोको लाखे र राति नेपाली डाकस अर्थात् रातिको लाखे प्रदर्शन गरिन्छ । जनैपूर्णिमामा भने ‘ड्वाकु’ अर्थात् ठूलो लाखे निकालिन्छ । बाजागाजासहित कालिञ्चोक भगवतीसँग गुहार माग्दै डापाखलकहरू मठमन्दिर परिक्रमा गर्छन् । टोल–टोल घुमिसकेपछि तान्त्रिक विधिबाट पूजा सम्पन्न गरी ठूलो लाखे निकालिन्छ ।
जनैपूर्णिमाको भोलिपल्ट, भाद्र कृष्णपक्ष प्रतिपदामा दिवंगत आफन्तको सम्झनामा साप्याखन अर्थात् गाईजात्रा मनाइन्छ । हास्यव्यंग्य, प्रहसन र नाटकले दोलखाको गाईजात्रालाई अझ जीवन्त बनाउने गरेको छ ।
गाईजात्राकै राति ट्वाकल प्याखन अर्थात् कृष्णलीला प्रदर्शन गरिन्छ । कृष्ण र गोपिनीको भेषमा कलाकारहरू हातमा लट्ठी लिएर बाजागाजाको तालमा नाच्दै लट्ठी जुधाउँछन् ।
तर दोलखाको हिलेजात्राको सबैभन्दा रहस्यमय अध्याय हो भैरव–कुमारी जात्रा । गाईजात्राको भोलिपल्टदेखि पाँच रातसम्म चल्ने यो जात्रा दोलखाको मौलिक तान्त्रिक परम्पराको अद्वितीय उदाहरण हो ।
भैरव, कुमारी र विभिन्न गणहरू देवीदेवताको भेषमा सिंगारिएर देवस्थल परिक्रमा गर्छन् । उनीहरुलाई पूजाआजा र सगुनपछि मात्रै जात्रा निकालिन्छ । पहिलो रात भूतप्रेतले जात्रा हेर्ने भएकाले मानिसले हेर्न नहुने विश्वास छ । दोस्रो दिन गुभाजु बज्र र घण्टीसहित भूतप्रेत तथा दानवराक्षस पन्छाउँदै अघि बढ्ने परम्परा छ । स्थानीय किंवदन्तीअनुसार, नागदहबाट तीन देवीलाई दोलखामा ल्याइएको थियो ।
कुमारीको चञ्चल शक्तिका कारण बालबालिका मर्न थालेपछि तान्त्रिक विधिबाट उनलाई जमिनमुनि बाँधिएको र पछि हरेक वर्ष पाँच दिन जात्रा निकाल्ने सर्तमा मुक्त गरिएको विश्वास छ ।
कुमारीको सम्भावित विध्वंश रोक्न उनका पति भैरवलाई पनि जात्रामा सहभागी गराइन्छ । त्यसैले यसको नाम नै भैरव–कुमारी जात्रा रहेको विश्वास गरिन्छ । जात्राभर बाजा रोक्न नहुने, सिठ्ठी बजाउन नहुने र भैरव सधैं अगाडि रहनुपर्ने मान्यता छ । महिलाहरू निराहार व्रत बसेर पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास पनि छ ।
तर पाँच सय वर्षभन्दा पुरानो यो अमूर्त सांस्कृतिक सम्पदा आज संरक्षणको चुनौतीमा छ । आर्थिक संकटसँगै युवाहरू रोजगारीका लागि बाहिरिनु र वाद्यवादकको अभावले जात्राको निरन्तरतामाथि चुनौति थपिएको छ ।
घण्टाकर्णदेखि लाखे, गाईजात्रा, कृष्णलीला हुँदै भैरव–कुमारीसम्म—दोलखाको हिलेजात्रा उत्सवभन्दा पनि इतिहास, तन्त्र, कला र सामुदायिक विश्वासको जीवित दस्तावेज हो ।
यसलाई स्थानीय प्रयासमा मात्र सीमित नराखी राज्यले संरक्षण गर्न र विश्वमाझ चिनाउन आवश्यक देखिएको छ ।


