News 24 Television
२० दिनदेखि सडक बन्द, तीन तहकै सरकारले गरेनन वास्ता, आर्थिक क्षति बढ्दो

मुगु । अविरल वर्षासँगै आएको पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गत मुगुको झ्यारी–गमगढी र गमगढी–छायल बगर सडक खण्ड विगत २० दिन देखि पूर्ण रूपमा ठप्प बनेको छ । सडक अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट मुगुतर्फ जाँदै गरेका एलपी ग्यास, खाद्यान्न, औषधि तथा निर्माण सामग्री बोकेका दर्जनौँ मालवाहक गाडीहरू बाटोमै अलपत्र परेका छन् भने खाद्यान्न लगाएत अन्य सामानमा पानि पस्दा कुहीन थालेका छन । 

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत मुगुको झ्यारी–गमगढी र गमगढी–छायल बगर सडक खण्ड विगत २० दिन ठप्प हुदा दैनिक उपभोग्य वस्तुदेखि फलफुल बोकेका सवारी रोकिएका छन्। संघीय, प्रदेश , स्थानीय तह र सडक डिभिजन कार्यालय जुम्लाको बेवास्ताका कारण पहिरो हटाउन ढिलाइ भएको भन्दै सर्वसाधारण तथा ब्यापारी र सवारी चालकहरू आक्रोशित बनेका छन् ।

सदरमुकाम गमगढी पुग्ने मुख्य बाटो नै बन्द भए पछि स्थानीयवासीको भान्सामा ग्यास बल्न छाडेको छन भने बजारमा उपभोग्य वस्तुको अभाव चुलिएको छ । सडक फराकिलो बनाउने क्रममा ठेकेदारले लापरवाहीले राति सडक काट्दा पहिरो गई घर, मकै, कोदो स्याउ लगायतको जग्गासमेत पहिरोले बगाएपछि स्थानीयको उठिबास भएको छ ।

सडक बन्द हुँदा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजान किनेर राखिएका २० देखि २५ लाख मूल्य बराबरका स्याउ बाटोमै कुहिन थालेका छन् । बाहिरबाट ल्याइएका व्यापारिक सामान बिग्रिँदा व्यापारीहरूले ठूलो आर्थिक घाटा व्यहोर्नु परेको गुनासो छ ।

यता नाग्म–गमगढी–नाक्चेलाग्ना सडक आयोजनाले भने भौगोलिक विकटता र निरन्तरको वर्षाका कारण काममा बाधा पुगेको जनाएको छ । असार मसान्तभित्र सडक डबल कटिङको जिम्मा पाएको ठेकेदारले काम छाडेकाले माटो दलदल भई पहिरो खस्ने समस्या थपिएको र अबको केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने आयोजनाको दाबीे छ ।

नागरिकको दैनिक जीवनका साथै आपतकालीन सेवाहरू समेत ठप्प हुँदा सरोकारवाला निकायले यथाशीघ्र सडक खुलाउन ठोस कदम चाल्नु अत्यावश्यक देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update