News 24 Television
म्याग्दीको मालिका गाउँपालिका पर्यटकको रोजाईमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाका प्राकृतिक तथा धार्मिक पर्यटनस्थल आन्तरिक पर्यटकको आकर्षण बन्दै गएका छन् । विभिन्न वडामा रहेका ताल, धुरी, धार्मिकस्थल र मनोरम प्राकृतिक दृश्यको संरक्षण तथा पूर्वाधार विकास गर्न सके गाउँपालिकालाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ ।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको बराहताल समुद्र सतहदेखि करिब २ हजार १ सय ८७ मिटरको उचाइमा अवस्थित छ । म्याग्दी सदरमुकाम बेनीदेखि करिब ३७ किलोमिटर र गाउँपालिकाको व्यापारिक केन्द्र दरवाङदेखि करिब १३ किलोमिटरको दूरीमा रहेको यो ताल सडक सञ्जालसँग जोडिएको छ । 

बेनी–दरवाङ हुँदै निस्कोट पुग्न सकिन्छ भने दरवाङबाट जीप तथा मोटरसाइकलमा समेत तालसम्म पुग्ने अवस्था छ । निस्कोटको बराहताल धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको छ। तालको एक कुनामा बराह मन्दिर निर्माण गरिएको छ। हरेक वर्ष मंसिरमा बराह पूजा गर्ने परम्परा रहेको स्थानीय बताउँछन्। 

तालको पानी आउने कुनै स्पष्ट स्रोत छैन। पानी बाहिर जाने निकाससमेत देखिँदैन। तर लामो समयदेखि तालमा पानी रहँदै आएको छ। तालमा पातपतिङ्गर तथा स्याउला पनि सामान्य रूपमा जम्मा नहुने स्थानीयको भनाइ छ। कसैले स्याउला फाले पनि आफैं हट्दै जाने गरेको बताइन्छ। 

तालको यस्तो विशेषता स्थानीयका लागि धार्मिक विश्वाससँगै प्राकृतिक कौतुहलको विषय बनेको छ। हिउँदको समयमा निस्कोट बराहतालमा हाँस, बकुल्लालगायतका चराहरू आउने गरेका छन्। स्थानीयका अनुसार हाँसहरू पाहुनाका रूपमा आएजस्तै गरी केही दिन तालमा बसेर फेरि अन्यत्र जाने गर्छन्। मौसम खुलेको समयमा तालबाट हिमशृङ्खलाको दृश्यसमेत देख्न सकिन्छ। ताल वरपरको प्राकृतिक वातावरणले पर्यटकलाई आकर्षित गर्ने गरेको स्थानीयको भनाइ छ।

मालिका–५ मा रहेको गाइखर्क ताल पनि गाउँपालिकाको अर्को सम्भावनायुक्त प्राकृतिक सम्पदा हो । पहाडी भूगोलमा अवस्थित ताललाई स्थानीय पर्यटनसँग जोडेर विकास गर्न सकिने सम्भावना रहेको छ। प्राकृतिक वातावरणमा रहेको ताललाई धार्मिक तथा ग्रामीण पर्यटनसँग जोड्न सके यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने देखिन्छ । 

तालमा हाल सम्मको अवस्थामा सदियौं वर्षको इतिहास कोट्याउने हो भने पनि मात्रै तीन पटक पानी सुकेको जनविश्वास छ । बि.सं. १९९० मा तालको पानी सुक्दा भुकम्प आएको त्यो भन्दा अगाडी पानी सुक्दा अनिकाल लागेको र २०५१ सालमा पानी सुक्दा नेपालमा सशस्त्र युद्ध सुरु भएको मानिन्छ । तर अन्य अवस्थामा भने तालको पानी सुकेको कसैलाई पनि थाहा छैन ।

मालिका गाउँपालिका–७ बाइन्दोफाँटमा रहेको बराहताल पनि धार्मिक तथा प्राकृतिक महत्व बोकेको तालका रूपमा चिनिन्छ। तालसँग जोडिएको स्थानीय धार्मिक विश्वास र प्राकृतिक वातावरणलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ। 

मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका यी तालको संरक्षण र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ। मालिका गाउँपालिका–१ का अध्यक्ष टंक पुनका अनुसार निस्कोट बराहताल धार्मिक तथा पर्यटकीय आस्थाको केन्द्रका रूपमा विकास हुँदै गएको छ । तालको संरक्षण र प्रचारप्रसारका लागि गाउँपालिकाले प्रयास गरिरहेको उनले बताउँछन् । 

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार निस्कोट बराहतालसम्म जीप तथा मोटरसाइकल लैजान सकिने अवस्था छ। सडक पहुँचलाई व्यवस्थित गर्दै पर्यटकीय पूर्वाधार थप गर्न सके ताललाई जिल्लाकै आकर्षक गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।

मालिकाका तीनवटै तालको प्रकृति र विशेषता फरक भए पनि तिनलाई एउटै पर्यटकीय सर्किटमा जोड्ने सम्भावना छ। निस्कोट बराहताल, गाइखर्क ताल र बाइन्दोफाँट बराहताललाई सडक तथा पदमार्गमार्फत जोडेर धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनको संयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ। 

तालमा पर्यटक पुग्न थालेपछि फोहोर व्यवस्थापन, खानेपानी, शौचालय, विश्रामस्थल, सूचना बोर्ड, पदमार्ग तथा सडकको गुणस्तर सुधारलगायतका आधारभूत पूर्वाधार आवश्यक छन् । मालिका गाउँपालिकाका यी तीन ताल अहिले सम्भावनाको चरणमा छन्। उचित संरक्षण, अध्ययन, प्रचारप्रसार र पूर्वाधार विकास हुन सके तीनवटै तालले गाउँपालिकाको पर्यटन पहिचानलाई नयाँ उचाइ दिन सक्नेछन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update