काठमाडौं । इजरायलको नेपालस्थित दूतावासले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–२, त्रिशूलीका समुदायलाई आपत्कालीन मानवीय सहायता उपलब्ध गराएको छ ।
नेपालस्थित इजरायली दूतावासकी चार्जे डी अफेयर्स जानान बेबारले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रभावित व्यक्ति तथा परिवारलाई आवश्यक सामग्रीसहितका आपत्कालीन ‘गो–ब्याग’ र राहत सामग्रीका बक्स हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा बेबारले विपद्का कारण उत्पन्न पीडा पूर्ण रूपमा हटाउन नसकिए पनि एकजुट भएर एकअर्कालाई सहयोग गर्न सकिने बताइन् ।
उनले सबै पीडा हटाउन सम्भव नभएपनि एकजुट भएर एकअर्कालाई साथ दिन सकिने र कसैलाई पनि एक्लो महसुस हुन नदिने वातावरण बनाउन सकिने बताइन् ।
त्रिशूलीमा आफूले बलियो मानवीय साहस र ऐक्यबद्धता देखिएको बताइन् । यस्तो मानवीय साहस र ऐक्यबद्धताप्रति नेपालले गर्व गर्नुपर्ने उनको भनाइ थियो ।
बाढी प्रभावित समुदायलाई गरिएको यो सहयोग इजरायली दूतावासको राहत प्रतिक्रियाको दोस्रो चरण हो । यसअघि दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा बाढी प्रभावित समुदायलाई प्रारम्भिक राहत सहयोग उपलब्ध गराएको थियो ।
राहत तथा पुनःस्थापनाका काम अघि बढ्दै जाँदा पहिचान भएका आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिने पनि दूतावासले जनाएको छ ।
दूतावासले बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतमा खटिएका नेपाली सरकारी निकाय, पहिलो उद्धारकर्ता, स्थानीय समुदाय र स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेको छ ।


