News 24 Television
अस्तव्यस्त काठमाडौँबारे कलाकार र आईजीपीको चिन्ता, प्रलय आउने चेतावनी !

काठमाडौँ । घना बस्ती, डुबान, भूकम्पीय जोखिम, फोहोर र ट्राफिक अस्तव्यस्तताले काठमाडौँको भविष्यप्रति चिन्ता बढाएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चोभारको कमजोर निकासका कारण प्रलयको जोखिम औँल्याउँदा हरिवंश आचार्य र आईजीपी दानबहादुर कार्कीले व्यवस्थित, प्रविधिमैत्री र सुरक्षित सहर निर्माणमा जोड दिएका छन् । 

देशकै ठूलो सहर तथा संघीय राजधानी काठमाडौँ– जहाँ देशभरिकै जनताको बसोबासले घना आवादी बनेको । यति मात्र हैन अव्यवस्थित बसोबासले अनेक समस्या समेत निम्त्याउँदै आएको छ । घना आवादी, भूकम्पीय जोखिम, डुबानको खतरा, खानेपानी समस्या तथा फोहोरमैला र ट्राफिक अस्तव्यस्तता जस्ता तमाम समस्याहरू वर्षौँदेखि कायम छन् । कलाकार हरिवंश आचार्य भन्छन्– काठमाडौँ बिग्रन थालेको पछिल्लो ५० वर्षदेखि हो । काठमाडौँले आफ्नो अतीतको सौन्दर्य त अब फर्काउन सक्दैन होला, तर व्यवस्थित शहरीकरण र सौन्दर्यीकरण भने गर्न सकिन्छ । काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ कलाकारहरू र प्रहरी नेतृत्वले काठमाडौँको दिगो विकास, विपद् जोखिम र व्यवस्थापनबारे गहन चिन्ताका साथै महत्वपूर्ण सुझावहरू व्यक्त गरेका छन् । 

यसरी हुनसक्छ काठमाडौँमा प्रलय 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँ उपत्यकाको बाढी जोखिमलाई लिएर गम्भीर चेतावनी दिएका छन् । उपत्यकाका विभिन्न दिशाबाट आउने खोलानाला, नदी र ढलहरुको एउटै निकासमार्फत चोभारतर्फ जाने तर चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नहुने हो भने भविष्यमा जुनसुकै बेला प्रलय निम्तिन सक्छ । उनका अनुसार चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या वा अवरोध आए काठमाडौँमा भयावह विपत्ति निम्तिन सक्छ । त्यसैले महानगरपालिकाले चोभारको निकास क्षमता बढाउनुका साथै वैकल्पिक सुरुङ निर्माण गरी पानी निकास गर्ने सम्भावनातर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । उनले सोलुखुम्बुको थामे र रसुवा भोटेकोशीमा आएको बाढीले बस्ती नै बगाएको घटना स्मरण गराउँदै विश्वव्यापी तापक्रम वृद्धि र हिमताल फुट्ने जोखिमप्रति पनि समयमै सतर्क रहनुपर्नेमा जोड दिए । 

५० वर्षदेखि बिग्रिएको काठमाडौँ

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ करिब ५० वर्षअघिदेखि नै बिग्रिन सुरु भएको स्मरण गर्दै पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही सकारात्मक काम भइरहेको बताए । उनले बालेनको मेयर कालमा महानगरभित्र निर्माण भएका ‘फल्चा’हरूले मौलिक सम्पदा र संस्कृतिको संरक्षणमा ठूलो भूमिका खेलेको बताए । भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले काठमाडौँको सरसफाइ र सौन्दर्यको प्रशंसा गर्दै ‘नेपालबाट सिक्नुपर्छ’ भनेको सामग्री देख्दा आफूलाई गर्व लागेको उनको भनाइ थियो । देवतैदेवताको सहर काठमाडौँलाई जोगाउन महानगरवासी आफैँ जिम्मेवार बन्नुपर्नेमा आचार्यले जोड दिए ।

कलाकार जितु नेपालले महानगरमा पार्किङको चरम समस्या रहेको भन्दै गाडीमा लक लगाइदिँदा सर्वसाधारणले तनाव भोग्नुपरेको हुनाले महानगरले पार्किङ व्यवस्थापनमा थप सोच्नुपर्ने बताए । साथै, सहर फोहोर हुनुमा नागरिक आफैँ पनि जिम्मेवार रहेको उनको तर्क थियो । घरबाट निस्कने कुहिने फोहोरलाई घरमै मल बनाउन सकिने र प्लास्टिक–बोतल छुट्याएर फालेमा फोहोरको मात्रा निकै घट्ने भन्दै जितु नेपालले सबै फोहोर एउटै ठाउँमा मिसाएर फाल्ने बानी नगरवासीले सुधार्नुपर्ने बताए । 

‘हात हल्लाउने ट्राफिक व्यवस्थापनको अन्त्य’ 

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ट्राफिक प्रहरी सडकको बिचमा जोखिम मोलेर हात हल्लाउँदै उभिनुपर्ने पुरानो शैलीको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले काठमाडौँको ट्राफिक र सुरक्षा व्यवस्थापनका लागि आइटी–सक्षम सीसीटीभी जडान गरी वैज्ञानिक प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । आईजीपी कार्कीले सडक, बसपार्क, फुटपाथ र आपतकालीन उद्धारमा नेपाल प्रहरी तथा स्थानीय तहबिच थप सहकार्य आवश्यक रहेको बताए ।

काठमाडौँलाई जीवन्त, सुरक्षित र सुन्दर बनाउन प्रविधिको प्रयोग, वातावरणीय सचेतना, चोभारजस्ता सम्भावित जोखिमको दीर्घकालीन समाधान र नागरिक स्वयंको व्यवहारमा सुधार अति आवश्यक देखिन्छ । सरकार एक्लैले मात्र सबैथोक गर्न नसक्ने हुँदा महानगर सभ्य राख्न नागरिकको भूमिका पनि उत्तिकै हुन्छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update