महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा अनाधिकृत तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी मदरसा सञ्चालनमा ल्याइएको पाइएको छ । उक्त मदरसामा नेपाल सरकार र स्थानीय सरकारले शैक्षिक संस्था संचालन गर्न बनाएको मापदण्ड र व्यस्थापन नियमको धज्जी उडाउदै अवैध रूपले मदरसा संचालनमा रहेको अनुगमनमा भेटिएको हो ।
महोत्तरी सदरमुकाम जलेश्वरको मुख्य बस्तीका बीच अनाधिकृत तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको एक मदरसाबाट तीन बालिका बेपत्ता भएपछि स्थानीय प्रशासन तथा स्थानीय तहको ध्यानाकर्षण भएको छ ।
आवसिय सुविधा सहित संचालित भनिएको उक्त मदरसामा नेपाल सरकार र स्थानीय सरकारले शैक्षिक संस्थान संचालन गर्न बनाएको मापदण्ड र व्यस्थापन नियमको धज्जी उडाउदै अवैध रूपले मदरसा संचालनमा रहेको अनुगमनमा भेटिएको छ ।
जलेश्वर नगरपालिका वडा नं. २ स्थित गैरकानुनी रुपमा सँचालनमा रहेको मदरसा सैईदा फातिमा मिल्वेनातमा पढदै आएकी तीन बालिका गत भदौ २५ गतेदेखि नै बेपत्ता भएको उनका परिवारको आरोप छ । आफ्नो छोरी खोजीदिन प्रहरीमा निवेदन लिएर पुगेपछि उक्त घटना बाहिर आएको थियो ।
घटनापछि जलेश्वर नगरपालिका वडा नं ०२ का वडाध्यक्ष वरुणकुमार दाहालको अध्यक्षतामा स्थानीय निकायको टोलीले मदरसामा छापा मारेर स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा मदरसा सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा नभएको भेटीएको छ । यता बालिकाहरू कहाँ र कसरी बेपत्ता भए भन्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ । उनले अनाधिकृत मदरसा रहेकाले बन्द गर्न भनिरहँदा पनि जलेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख ले संचालन गरि राख्न भनेको विषय शंकास्पद रहेको वडाध्यक्ष दाहाल बताउँछन् ।
स्थानीय निकायको अनुगमन टोलीले मदरसाको दर्ता, सञ्चालन अनुमति, विद्यार्थीको विवरण, आवासीय व्यवस्था तथा बालबालिकाको सुरक्षासम्बन्धी प्रबन्धबारे समेत जानकारी लिएको छ । आवश्यक कानुनी मापदण्ड पूरा नगरी शैक्षिक संस्था सञ्चालन गरिएको पाइएपछि मदरसा बन्द गर्न निर्देशन दिइएको बताइएको छ ।
जलेश्वर नगरपालिका २ का वडाध्यक्ष दाहालले यस अघि पनि यस मदरसामा अनुगमन गरेको जानकारी दिए । मदरसा अवैधानिक भेटेपछि शुक्रवार सम्म यसलाई बन्द गर्न निर्देशन दिईएको पनि उनले जानकारी समेत दिए ।


