News 24 Television
मार्फाको बागवानी केन्द्रले मनायो ६०औँ वार्षिकोत्सव

मुस्ताङ । मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आफ्नो स्थापनाको ६०औँ वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रले विगतदेखि गर्दै आएको फलफूल तथा तरकारी उत्पादन, गुणस्तरीय बिरुवा विकास, अनुसन्धान, प्रविधि प्रसार र कृषकसँगको सहकार्यका उपलब्धि प्रस्तुत गर्दै आगामी कार्यदिशा समेत सार्वजनिक गरेको छ । 

मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले आफ्नो ६० औँ वार्षिकोत्सव मनाएको छ । केन्द्र प्रमुख प्रकाश पन्थको अध्यक्षता तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमी सामुदायिक स्याउबारी कृषक समूहलाई पुरस्कृत गरिएको छ । कृषक अगुवा सुरेन्द्रकुमार हिराचन तथा केन्द्रका उत्कृष्ट कर्मचारी सन्जिना माझी र अष्ट विकलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा मन्त्री चौधरीले विभिन्न क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।

२०२३ सालमा अर्चाड कम नर्सरीका रूपमा सुरु भएको केन्द्र २०२९ सालमा कृषि फार्म थाक मार्फा, २०४३ सालमा राष्ट्रिय शीतोष्ण बागवानी अनुसन्धान केन्द्र, २०५२ सालमा बागवानी केन्द्र हुँदै २०६१ सालदेखि शीतोष्ण बागवानी विकास केन्द्रका रूपमा सञ्चालनमा छ ।

५१ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्र समुद्री सतहदेखि २ हजार ६५० मिटर उचाइमा छ । केन्द्रले गुणस्तरीय फलफूलका बिरुवा तथा तरकारीका मूल बीउ उत्पादनसँगै प्रशोधन र बजारीकरणसमेत गर्दै आएको छ । 

आर्थिक वर्ष २०८२\८३ मा केन्द्रले बिक्रीबाट ७६ लाख ५ हजार ४ सय ५१ रुपैयाँ ९५ पैसा राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा स्याउको ठेक्का २४ लाख ४१ हजार रुपैयाँमा सम्झौता भएको छ । केन्द्रले किसानलाई तालिम तथा प्रविधि हस्तान्तरणसमेत गर्दै आएको छ ।

केन्द्र प्रमुख प्रकाश पन्थले जलवायु परिवर्तनलाई प्रमुख चुनौतीका रूपमा औँल्याउँदै हिउँ नपर्नु, बढी वर्षा, बाढीपहिरो र भूक्षयले उत्पादनमा असर पारेको बताए । घमी तथा उपल्लो मुस्ताङको करिब ८०१ रोपनी जग्गालाई स्याटेलाइट फार्मका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ । कार्यक्रमपछि केन्द्रमा आयोजित फलफूल तथा कृषि उत्पादन प्रदर्शनीको अवलोकन गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update