News 24 Television
रमा आलेमगरले सम्हालिन् बागमतीको कृषि तथा वन मन्त्रालय

मकवानपुर । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सांसद रमा आलेमगरलाई कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री किरण थापामगरको सिफारिसमा आलेमगरले शुक्रवार पद तथा गोपनीयताको सपथ पनि लिइन् । तर मन्त्रिपरिषद् विस्तार भइरहँदा पनि बागमती क्याविनेटले पूर्णता पाउन सकेको छैन । एमालेकै एक मन्त्री भने अझै बिना विभागीय छन् । 

बागमती प्रदेश सरकारमा नेकपाको भागमा परेको दोस्रो मन्त्रालयको जिम्मेवारी रमा आलेमगरले सम्हालेकी छन् । तीन दलीय सत्ता गठबन्धनबीच भएको भागबण्डाअनुसार नेकपाले सभामुखसहित दुई मन्त्रालय पाउने सहमति भएको थियो । 

सोहीअनुसार मुख्यमन्त्री किरण थापामगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आलेमगरलाई कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री आलेमगरले प्रदेश प्रमुख देवकोटासमक्ष पद तथा गोपनीयताको सपथ लिएकी छन् । 

यसअघि नेकपाबाट सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । आलेमगरको नियुक्तिसँगै नेकपाको भागमा परेको दुई मन्त्रालयको बाँडफाँट पूरा भएको छ । लामो समय स्वास्थ्य समस्याका कारण राजनीतिबाट टाढिएकी आलेमगर दोस्रोपटक क्याबिनेटमा प्रवेश गरेकी हुन् ।

आलेमगर ८ सदस्यीय बागमती प्रदेश मन्त्रिपरिषदमा एक्ली महिला मन्त्री बनेकी छन् । संविधानले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशी सहभागिताको व्यवस्था गरे पनि प्रदेशको वर्तमान क्याबिनेटमा महिला प्रतिनिधित्व एक जनामा सीमित छ । मुख्यमन्त्री थापामगरले भने आलेमगरको नियुक्तिलाई सरकारमा समावेशी सहभागिताको सुरुवातका रूपमा व्याख्या गरेका छन् ।

यता, सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा लगभग टुंगिएपनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । एमालेका ज्ञानबहादुर तामाङ अझै बिना विभागीय मन्त्री छन् । उनलाई आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि टुंगो लागेको छैन ।

बागमतीमा आठ मन्त्रालय छन् । सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले सभामुखसहित दुई र राप्रपाले तीन मन्त्रालय लिनेछन् । बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेपछि मात्रै सरकारको क्याबिनेटले पूर्णता पाउनेछ । 

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update