रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्र रुपान्तरणका लागि साझा धारणा र कार्ययोजना बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । तीनदिने सम्मेलनमा विभिन्न नौ मुलुकका बौद्ध विद्वान्, अनुसन्धानकर्ता र सम्पदाविद्सहित १ सय ५० भन्दा बढी सहभागी छन् ।
लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुक्रवारदेखि सुरु भएको छ । पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सुरु सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेश) ले बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्र समेटेर आध्यात्मिक गन्तव्य बनाउन बृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रम लागू गरिएको बताए ।
स्थानीयले अहिलेसम्म लुम्बिनीबाट पर्याप्त लाभ लिन नसक्दा अपनत्व कायम हुन नसकेको भन्दै उनले सम्पदा संरक्षणसँगै स्थानीयका लागि जीविकोपार्जन र रोजगारीका अवसर सिर्जना गरिने बताए । विश्व बैंकसँगको सहकार्यमा देखिने र व्यवहारिक विकासका काम गरिने तथा विश्व सम्पदा समिति, युनेस्को र इकोमसको सुझाव अनुसार कार्यक्रम कार्यान्वयन गरिने मन्त्री पौडेलको भनाइ छ ।
सहभागीहरूले लुम्बिनी भ्रमण गर्ने गन्तव्य मात्र नभई बुद्ध शिक्षा, शान्ति, करुणा र आध्यात्मिक अनुभूति गर्ने स्थल भएकाले संरक्षण र विकासमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।
नेपालका लागि युनेस्को प्रतिनिधि जाको डु टोइटले लुम्बिनीको महिमा थप बलियो बनाउने गरी काम भइरहेको बताए । लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटक आकर्षणसँगै स्थानीयको अपनत्व बढाउनुपर्ने बताए ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बृहत्तर लुम्बिनी क्षेत्रको विकास र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न सहयोग पुग्ने उद्देश्यले सम्मेलन गरिएको बताए ।
तीनदिने सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, इन्डोनेसिया, म्यानमार, बेलायत, जापान, अस्ट्रेलिया र थाइल्यान्डका बौद्ध विद्वान्, अनुसन्धानकर्ता, पुरातत्वविद्, सम्पदाविद् तथा भिक्षु–भिक्षुणीसहित १ सय ५० जनाभन्दा बढी सहभागी छन् ।
बृहत्तर लुम्बिनी क्षेत्रमा लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम र पण्डितपुरलगायत महत्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थल छन् । सम्मेलनले चार विषयमा साझा कार्ययोजना तयार गरी आइतबार साझा घोषणापत्र जारी गर्नेछ । सम्मेलनको निष्कर्षले सरकारका आगामी कार्यक्रम तथा विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित परियोजनालाई मार्गदर्शन गर्ने आयोजकको विश्वास छ ।


