News 24 Television
अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’ ट्रफी टुर सम्पन्न

काठमाडौं । नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिग नेपाल भलिबल लिग (NVL) को पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्ट्रिम गौरवको यात्रा–Champions of Nepal Volleyball League Trophy Tour’ सम्पन्न गरेको छ ।

एक्ट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा आयोजना गरिएको ट्रफी टुरमार्फत च्याम्पियन टोलीले आफ्नो उपाधि समर्थक, खेलप्रेमी तथा स्थानीय समुदायसम्म पुर्‍याएको हो । अन्नपूर्ण स्पाइकर किङ्सले अन्नपूर्ण आधार शिविरसम्म समेत च्याम्पियन ट्रफी पुर्‍याउँदै अभियानको सुरुवात गरेको थियो ।

अभियानअन्तर्गत गण्डकी प्रदेशका विभिन्न प्रमुख शहर तथा स्थानमा ट्रफी पुर्‍याइएको थियो । खेलाडी, समर्थक तथा स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट र विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

एक्ट्रिम इनर्जी ड्रिंक्सले नेपाली भलिबलको उत्साह, उपलब्धि र खेलाडीको यात्रालाई समर्थकसँग जोड्दै खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ ।

नेपाल भलिबल लिगको पहिलो संस्करण गत भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको थियो । प्रतियोगितामा काठमाडौं रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश युनाइटेड, सगरमाथा स्क्वाडर्स र अन्नपूर्ण स्पाइकर किङ्स गरी ६ फ्रेन्चाइज टोली सहभागी थिए ।

ऐतिहासिक फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो NVL च्याम्पियन बनेको थियो । उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरेको थियो।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update