मुस्ताङ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका चर्चित तीव्र गतिका बलर तथा अलराउन्डर करण केसीले खेल मैदानबाहिर व्यावसायिक यात्राको थालनी गर्दै रिसोर्ट सञ्चालनमा ल्याएका छन् । क्रिकेट मैदानमा आफ्नो उत्कृष्ट बलिङ र ब्याटिङका लागि परिचित करणले पर्यटकीय जिल्ला मुस्ताङको थासाङ गाउँपालिकास्थित लेतेमा द लेते गाउँ रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
नेपाली क्रिकेट टिमका भरपर्दा अलराउण्डर करण केसीले लेतेको प्रवेशद्वारमा १० रोपनी जग्गा भाडामा लिएरे रिसोर्ट सञ्चालन गरेका छन् ।
गत वर्ष २०८२ साल असारदेखि निर्माण तथा तयारी थालिएको यस रिसोर्टको एक वर्षको निरन्तर मिहिनेतपछि गत भदौ ५ गतेदेखि सफ्ट ओपनिङ गरी व्यावसायिक सेवा शुभारम्भ गरिएको हो ।
मैदानमा भ्यालेन्टाइन ब्वाय भनेर लिइने केसीको अर्को परिचय व्यवसायीको रुपमा पनि थपिएको छ । केसी मैदानमा छिर्दा विपक्षी टोलीका ब्याटर त्रसित हुने गरेका छन् ।
सन् २०१८ मा क्यानडा विरुद्धको आइसिसी विश्वकप क्वालिफायर खेलमा १० औँ विकेटका लागि सन्दीप लामिछानेसँग ४५ रनको ऐतिहासिक साझेदार गर्दै नेपाललाई एकदिवसीय राष्ट्रको मान्यता दिलाउन उनले खेलेको अविष्मरणीय भूमिका नेपाली क्रिकेट इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
हाल नेपाली टोली एसियन गेम्स लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा रहेको र केसी खेलको सिलसिलामा जापान÷वैदेशिक भ्रमणमा रहे तापनि रिसोर्टमा आउने पाहुनाहरूलाई स्वागत गर्न उनका परिवार तथा व्यवस्थापन टोली आतुर रहेको छ ।
रिसोर्टका प्रतिनिधि विष्णुप्रसाद शर्माका अनुसार मुस्ताङ भ्रमणमा आउने पर्यटकहरूलाई स्वच्छ वातावरणमा ताजा तथा मौलिक परिकारहरू पस्कने र स्तरीय आतिथ्यता प्रदान गर्ने उद्देश्य राखिएको छ ।
लेतेका रैथाने तथा थकाली समुदायका बरिष्ठ पुरोहित ७२ वर्षीय इन्द्रजित गौचनका अनुसार हिउँ पर्दा र वर्षात् हुँदा पनि सुरक्षित तथा आरामदायी ढंगले बस्न सकिने गरी आधुनिक र मजबुत संरचनामा रिसोर्ट निर्माण गरिएको छ ।
पहिले सडक पूर्वाधार, चेतना र पर्यटकीय आवगमन नभएको सुनसान ठाउँमा अहिले राष्ट्रिय खेलाडीले यस्तो आकर्षक रिसोर्ट सञ्चालनमा ल्याउँदा स्थानीय स्तरमा नयाँ उत्साह थपिएको र लेतेको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण लेतेमा प्राकृतिक दृश्य अवलोकन गर्दै आरामदायी बसाइका लागि १० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट मुस्ताङ घुम्न जाने पर्यटकहरूका लागि थप नयाँ र आकर्षक गन्तव्य बनेको छ ।
भरपर्दो अलराउण्डर करण केसीले आफ्नो खेल जीवनको करिब उत्तरार्धमा रहेको समयमा हिमालपारीको जिल्ला मुस्ताङमा शुरु गरेको आफ्नो करिअरको दोश्रो इनिङ के कति सफल हुन्छ त्यो त समयले नै देखाउला । तर मुस्ताङ प्रवेश गर्ने जो कोहीले पनि लेतेको घुम्तीमा पुग्दा ठ्याक्कै आँखा पर्ने रिसोर्टको व्यवसायीक सफलता नहोला भन्न भने सकिदैन ।
उनले थालेको व्यवसायीक यात्रा सफल हुनेमा मुस्ताङका स्थानीय व्यवसायी तथा मुस्ताङ भ्रमण जाने पर्यटकहरुले पनि भन्ने गरेका छन् ।


