News 24 Television
अतिक्रमित क्षेत्र खाली गराउन कडा तयारी, डोजर अभियान शुरु हुँदै

कास्की । पोखराको फिर्के खोलालाई अतिक्रमणमुक्त बनाउने अभियानलाई महानगरपालिकाले पुनः तीव्रता दिएको छ । वर्षायामका कारण रोकिएको डोजर अभियान पुनः सुरु गर्दै महानगरले खोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना भत्काउन थालेको हो । पोखरा–४, प्रस्याङ पुलबाट सुरु भएको अभियानअन्तर्गत खोलाको बहाव क्षेत्र मिचेर बनाइएका बाँकी संरचना हटाइने महानगरले जनाएको छ । 

पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने अभियानलाई पुनः सुरु गरेको छ । पोखराको मुख्य सहरी क्षेत्र हुँदै बग्ने फिर्के खोलाको बहाव क्षेत्र मिचेर निर्माण गरिएका अनधिकृत संरचना हटाउन महानगरले डोजर परिचालन गरेको हो । महानगरले पोखरा–४ स्थित प्रस्याङ पुलबाट पुनः भत्काउने अभियान अघि बढाएको छ । 

महानगरले गत जेठ महिनादेखि नै फिर्के खोलाको बहाव क्षेत्र मिचेर बनाइएका संरचना हटाउने अभियान थालेको थियो । त्यसबेला एकैसाथ तीन स्थानबाट डोजर परिचालन गरिएको थियो । तर, असार र साउनमा वर्षायाम सुरु भएपछि प्राविधिक कठिनाइ र उपकरण परिचालनमा समस्या देखिएसँगै अभियान केही समयका लागि रोकिएको थियो । 

वर्षायाम सकिएपछि महानगरले पुनः अभियानलाई निरन्तरता दिएको हो । यसअघि सार्वजनिक सूचना जारी गर्दै मापदण्डभित्र परेका संरचना आफैँ हटाउन घरधनी तथा सम्बन्धित पक्षलाई समय दिइएको महानगरले जनाएको छ । निर्धारित समयभित्र संरचना नहटाउनेहरूको हकमा महानगरले आफैँ डोजर चलाउन थालेको हो । 

फिर्के खोलाको अँधेरी कुनादेखि फेवातालको गाईघाटसम्म करिब आठ किलोमिटर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने महानगरको योजना छ ।

उक्त क्षेत्रलाई अतिक्रमणमुक्त बनाएर वातावरणमैत्री करिडोरका रूपमा विकास गर्ने लक्ष्य महानगरले लिएको छ । अभियानका क्रममा महानगर आफैँले संरचना भत्काउनुपरेमा त्यसमा लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने जनाइएको छ । फिर्के खोलाको अतिक्रमण हटाउने अभियानले खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण र सहरी वातावरण सुधारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा यसको प्रभावकारी कार्यान्वयनमा निर्भर हुनेछ ।

महानगरले पहिचान गरेका सबै अनधिकृत संरचना हटाउन सक्छ कि सक्दैन र प्रस्तावित वातावरणमैत्री करिडोर निर्माणको योजना कसरी अघि बढ्छ भन्ने विषय हेर्न बाँकी नै छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update