News 24 Television
मिथिला संस्कृतिदेखि सम्पदाको प्रचारका निम्ति कस्तो गृहकार्य शुरु हुँदैछ ?

महोत्तरी । धार्मिक, पुरातात्विक, प्राकृतिक तथा मानव निर्मित पर्यटकीय स्थलले भरीपूर्ण रहेको महोत्तरीमा पर्यटकलाई लामो समय राख्न र त्यसबाट आर्थिक गतिविधि चलायमान बनाउन ठोस योजना नबन्दा पुरातात्विक र पर्यटकीय सम्पदाहरु ओझेलमा पर्दै गएका छन । महोत्तरीका यी सम्पदा जोगाउन पर्यटन प्रवर्धन गर्न सरोकारवाला निकायलाई झकझक्याउन महोत्तरीवासीले संभावनाको खोजी र बहस सुरु गरेका छन । 

मिथिलाको इतिहास, संस्कृति, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको जिल्ला हो महोत्तरी । उत्तरमा चुरेको काखदेखि दक्षिणमा नेपाल–भारत सीमासम्म फैलिएको महोत्तरीमा जलेश्वरनाथ महादेव, संसारीमातादेखि मटिहानीको लक्ष्मीनारायण मठ, राजकीय संस्कृत विद्यालय गुरुकुल, तस्मैया बाबा पीड़बाबा जस्ता धार्मिक–ऐतिहासिक सम्पदा, बर्दिबासको टुटेश्वरधाम, पञ्चधुरा माइस्थान,राइमण्डल क्षेत्र, मध्य पाषाण युगको हतियार कारखाना, औरहीको सोनामाई,  बलवाको पडौल स्थान, रौजा मजार, सोनमाको मंगलनाथ महादेव लगायत दर्जनौँ धार्मिक तथा पुरातात्त्विक स्थल छन्। त्यतिमात्र होइन, विद्यापति डिह, ऐतिहासिक पोखरी, वन क्षेत्र, चुरेको प्राकृतिक सौन्दर्य र स्थानीय मिथिला संस्कृति पनि पर्यटक आकर्षित गर्न सक्ने सम्पदा हुन्। तर संघियता आएको यतिका वर्ष बीतिसक्दा पनि पर्यटकीय क्षेत्रको विकासमा महोत्तरीलाई अपेक्षित गरिएको जिल्लावासीले आफ्नो गुनासो सुनाउदै आईरहेका छन । 

सम्भावनाले भरिएको महोत्तरीको पर्यटकीय स्थलसम्म पुग्ने बाटोको निर्माण, सरसफाई, शौचालय, उत्कृष्ट वासस्थल लगायत डिजिटल प्रचार–प्रसार सँगै स्थानीय र सरकारको लगानीको आवश्यकता छ । पर्यटनस्थल हुनु र पर्यटन गन्तव्य बन्नु दुवै फरक कुरा हुन्न र यस्ता सम्भावनालाई गन्तव्यका रुपमा स्थापित गर्न होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले जलेश्वर र बर्दिबासमा स्थानीय र सरोकारवाला निकायलाई साक्षी राख्दै सम्भावनाको खोजी र बहस सुरु गरेका छन ।

भारतीय सीमाबाट नेपाल प्रवेश गर्ने आगन्तुकलाई महोत्तरी लगायत मधेश प्रदेश र देशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको विशेषता सहितको त्यहाँ सम्म पुग्ने बाटोबारे जानकारी प्रदान गर्नेगरि सूचीबोर्ड राख्नसाथ स्थानीय व्यवसायीले पर्यटकलाई आकर्षित गर्नप्रति अझ सक्रिय हुनुपर्नेमा जोड़ दिएका छन् ।   

यता पर्यटकीय सम्भावनालाई विकसित गर्ने उद्देश्यले प्रत्येक सम्भावनाको खोजी र जागरूकता वृद्धि गर्न महोत्तरीको जलेश्वर र बर्दिबासमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । मधेश प्रदेश सरकार र केन्द्र सरकार योजनाहरु प्रति असन्तुष्टि व्यक्त गर्दै सरकारको लागानी सिमिति ठाऊँमा रह्यो र यसले मधेसको पर्यटनमा ठुलो योगदान दिन नसकेको होटल एसोसिएशन ऑफ नेपालका महासचिव दिपेन्द्र पराजुलीको भनाइ छ ।   

पर्यटकको स्वागतका लागि नगरपालिका सक्रिय रूपमा तयार रहदै आएको र नागरिक सरोकारको विषय ऊपर पहल गर्ने जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारको भनाइ छ ।  

धार्मिक सम्पदादेखि चुरेको प्राकृतिक सौन्दर्यसम्म र मिथिला संस्कृतिदेखि ऐतिहासिक सम्पदासम्मलाई एउटै पर्यटन सञ्जालमा जोड्न सके महोत्तरी केवल सम्भावना बोकेको जिल्ला मात्र होइन, पर्यटकले खोज्ने गन्तव्य बन्न सक्ने आधार देखिन्छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update