काठमाडौं । न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सिधाकुरा जनतासँग’ले आफ्नो १५००औँ शृङ्खला पूरा गरेको छ । यस ऐतिहासिक उपलब्धिको अवसरमा कार्यक्रमले शनिबार ललितपुरको बाडेगाउँस्थित प्याराडाइज हिल्समा विशेष समारोह आयोजना गरी खुसीयाली मनाएको छ ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य राजीव खत्रीले टेलिभिजन कार्यक्रम सुरु गर्नु जति सहज छ, त्यसलाई लामो समयसम्म निरन्तरता दिनु त्यति नै चुनौतीपूर्ण हुने उल्लेख गर्दै ‘सिधाकुरा जनतासँग’ले १५००औँ शृङ्खला पूरा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए । ‘सिधाकुरा जनतासँग’ नेपाली टेलिभिजन क्षेत्रमा एउटा गहकिलो कार्यक्रमका रूपमा स्थापित भएको भन्दै उनले कार्यक्रमको थप सफलताको कामना गरे ।
‘सिधाकुरा जनतासँग’का पूर्व सञ्चालक रवि लामिछाने अहिले देशको सबैभन्दा ठूलो दलको सभापति बनेको प्रसङ्ग उल्लेख गर्दै उनले लामिछानेले हिजो टेलिभिजनमार्फत जनताका मुद्दालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेकै कारण त्यसलाई पूरा गर्ने जिम्मेवारी जनताले विश्वासका साथ आज उनलाई दिएको बताए । साथै सांसद खत्रीले जनतालाई केन्द्रमा राखेर ‘सिधाकुरा जनतासँग’ले सरकारलाई प्रश्न गर्ने अवस्था नै नआउने गरी सरकारले काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको सुनाए । सरकारले जनताका समस्या समाधान गर्दै प्रभावकारी रूपमा काम गर्न सके ‘सिधाकुरा जनतासँग’ले पनि आफ्नो उद्देश्यमा सार्थकता पाउने उनको भनाइ थियो ।

सांसद खत्रीले केही समयअघि आफूले पत्रकारिताका विषयमा प्रश्न उठाउँदा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको प्रसङ्ग उल्लेख गर्दै उनले आफूले वीरेन्द्र जैरुजस्ता पत्रकारलाई नभई पत्रकारिताको नाममा राजनीति गर्ने प्रवृत्तिलाई प्रश्न गरेको स्पष्ट पारे ।
त्यसैगरी, वरिष्ठ फिल्म निर्देशक तथा सञ्चारकर्मी नारायण पुरीले ‘सिधाकुरा जनतासँग’ले १५००औँ शृङ्खला पूरा गरेकोमा बधाई दिँदै सामाजिक उत्तरदायित्वसहितको पत्रकारितालाई निरन्तरता दिन शुभकामना व्यक्त गरे। श्रव्य–दृश्य माध्यमबाट ओझेलमा परेका विषय र पात्रलाई उठान गर्दै न्यायको पहुँचसम्म पु¥याउन तथा सरकार र संवैधानिक निकायलाई खबरदारी गर्न कार्यक्रमले भूमिका खेलेको उनको भनाइ थियो ।
प्याराडाइज हिल्सका सञ्चालक तथा समाजसेवी रमेश खड्काले ‘सिधाकुरा जनतासँग’ले १५००औँ शृङ्खला पूरा गरेकोमा बधाई दिँदै कार्यक्रमको थप सफलताको शुभकामना व्यक्त गरे ।

‘सिधाकुरा जनतासँग’का प्रस्तोता वीरेन्द्र जैरुले कार्यक्रमले १५००औँ शृङ्खला पूरा गरेको लामो समय भइसके पनि देशमा आएको बाढीपहिरोका कारण त्यस अवसरमा सेलिब्रेसन गर्न नसकिएको बताए । उनले कार्यक्रमका संस्थापक रवि लामिछाने, त्यसपछि प्रस्तोता सम्झना भुजेल र वर्तमान टिमको योगदानलाई स्मरण गर्दै दर्शकको विश्वासलाई सदैव कायम राख्न प्रयासरत रहेको बताए ।
साथै उनले विभिन्न आरोह–अवरोह पार गर्दै कार्यक्रम ‘सिधाकुरा जनतासँग’ले १५००औँ शृङ्खला पार गरेको बताए । ‘सिधाकुरा जनतासँग’लाई विश्वसनीय बनाउन सत्य र तथ्यलाई प्राथमिकतामा राखेर कुनै पनि पूर्वाग्रहबिना प्रस्तुत गर्दै आएको उनको भनाइ थियो । जनताले कार्यक्रमप्रति गरेको विश्वासलाई आफूहरूले बुझेको उल्लेख गर्दै उनले जिम्मेवारी आफ्नो काँधमा रहेसम्म इमानदारीपूर्वक निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।



