News 24 Television
हप्तामा २ दिन स्थानीय पहिरन अनिवार्य

ओखलढुङ्गा । सरकारी कर्मचारीको नियमित कार्यालय पोसाक त हामीले देख्दै आएका छौँ । तर, ओखलढुंगामा प्रदेश सरकार अन्तर्गतका कर्मचारीको पोसाकमा अहिले केही फरक देखिन थालेको छ । साताको दुई दिन उनीहरु अल्लो र ढाकाबाट बनेका स्थानीय पोसाकमा कार्यालय पुग्ने गरेका छन ।

ओखलढुंगाका प्रदेश सरकार अन्तर्गतका सरकारी कार्यालयमा अहिले एउटा फरक दृश्य देखिन थालेको छ । कार्यालयमा कर्मचारीहरू आ–आफ्नो नियमित काममा व्यस्त छन । तर, हरेक बुधबार र शुक्रबार उनीहरूको पहिरन भने अरू दिनको भन्दा फरक देखिन्छ । कोही अल्लोबाट बनेको पोसाकमा छन त, कोही ढाकाका कपडामा सजिएका छन । 

सरकारी कार्यालयभित्र देखिएको यो दृश्य कर्मचारीको व्यक्तिगत रोजाइ नभई प्रदेश सरकारको नीतिको कार्यान्वयन हो । स्थानीय उत्पादनको प्रयोग र प्रवद्र्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले आफ्ना मातहतका कर्मचारीका लागि साताको दुई दिन स्थानीय उत्पादनबाट बनेको पोसाक लगाउने व्यवस्था गरेको छ ।

प्रदेश निजामती कर्मचारीको पोसाकसम्बन्धी कार्यविधि, २०८३ अनुसार बुधबार र शुक्रबार स्थानीय उत्पादनबाट बनेका पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हो । सोही व्यवस्थाअनुसार ओखलढुंगामा रहेका प्रदेश सरकार अन्तर्गतका सबैजसो कार्यालयमा अहिले कर्मचारीले यसको कार्यान्वयन गर्न थालेका छन । 

कर्मचारीहरूका लागि यो नियमित कार्यालय पोसाकभन्दा केही फरक अनुभव भए पनि स्थानीय उत्पादनको प्रयोगलाई सरकारी कर्मचारीबाटै सुरुवात गर्नु सकारात्मक भएको उनीहरूको बुझाइ छ ।

ओखलढुंगामा अहिले अल्लो, ढाका तथा राडीपाखीका कपडा उत्पादन तथा प्रशोधनसँग सम्बन्धित दुई दर्जन भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन । यद्यपि जिल्लामै यस्ता कपडाको पर्याप्त उत्पादन हुने अवस्था नभएकाले प्रदेशकै अन्य जिल्लाबाट पनि यस्ता कपडा ल्याएर कर्मचारीले लगाउँदै आएका छन । तर अहिले कार्यान्वयनमा आएको यो नीतिले जिल्लामा रहेका घरेलु तथा साना उद्योगका लागि आगामी दिनमा उत्पादन र बजार विस्तार गर्ने एउटा सम्भावित अवसरलाई भने बढाएको छ ।  

सरकारी कार्यालयमा सिर्जना हुने मागलाई स्थानीय उद्योगको उत्पादनसँग जोड्न सकिए यसले उद्योग विस्तारसँगै उत्पादन बढाउनसमेत सहयोग पुग्न सक्छ । अहिलेका लागि प्रदेश सरकारको नीति ओखलढुंगाका प्रदेश सरकारअन्तर्गतका कार्यालयमा कार्यान्वयनमा आइसकेकाले स्थानीय उत्पादनको प्रयोगलाई सरकारी कार्यालयबाटै प्रोत्साहन गर्दै त्यसको बजार विस्तार गर्ने प्रयासलाई समेत प्रतिनिधित्व गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update