News 24 Television
चोरी, कालोबजारी र दुर्घटना रोक्न विशेष अपरेसन, ५० हजार प्रहरी परिचालित

काठमाडौँ । बडादशैँ, तिहार, नेपाल संवत् तथा छठ जस्ता प्रमुख चाडपर्वहरूमा हुने चोरी, लुटपाट, कालोबजारी, डिजिटल ठगी, अस्वाभाविक भीडभाड र सवारी दुर्घटना न्यूनीकरण गरी शान्तिपूर्ण वातावरण कायम गर्न नेपाल प्रहरीले देशभर विशेष ‘चाडपर्व सुरक्षा योजना २०८३’ कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेका अनुसार बुधवारदेखि छठको भोलिपल्टसम्म लागू हुने यस एकीकृत सुरक्षा योजनाअन्तर्गत देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । काठमाडौँ उपत्यका, प्रदेश तथा जिल्ला प्रहरी कार्यालयहरूमा कमान्ड पोस्ट स्थापना गरी पैदल गस्ती, मोबाइल गस्ती, क्विक रिस्पोन्स टिम र क्रस पेट्रोलिङमार्फत एकीकृत सुरक्षा व्यवस्था मिलाइएको छ ।

यात्रु सहायता कक्ष र सीमा–नाकामा कडाइ

नागरिक र यात्रुको सहजताका लागि प्रहरीले देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ । साथै भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा थप १०८ वटा हेल्प डेस्क स्थापना गरी तस्करी, अवैध ओसारपसार र सीमा अपराधमाथि निगरानी कडा पारिएको छ । बजार क्षेत्र, सपिङ मल, बैंक तथा वित्तीय संस्था, चोक, नाका र सुनचाँदी कारोबार हुने क्षेत्रहरूमा ड्रोन, सीसीटीभी तथा प्रविधिको प्रयोग गरी सूक्ष्म अनुगमन भइरहेको छ । मुख्य नाकाहरूमा शङ्कास्पद वस्तु, विस्फोटक पदार्थ तथा लागुऔषध अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ । खाद्यान्न र उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा म्याद गुज्रिएका सामान बेच्नेमाथि कडा कारबाही गर्ने रणनीति प्रहरीको छ ।

डिजिटल ठगी र सामाजिक सञ्जालमाथि कडा नजर

यस वर्ष प्रहरीले परम्परागत अपराधका साथै प्रविधिमा आधारित अपराधलाई प्रमुख चुनौतीका रूपमा लिएको छ । पर्व लक्षित फेक अफर, नक्कली लटरी, फेक इन्भेस्टमेन्ट स्किम, मोबाइल बैंकिङ र वालेट ठगी तथा ‘ओटिपी’ र ‘पिन’ माग्ने गतिविधिमाथि तीव्र निगरानी बढाइएको छ । विशेष गरी ‘एआई’ बाट तयार पारिएका नक्कली आवाज र भिडियो प्रयोग गरी रकम माग्ने ठगीबाट जोगिन प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ । प्रहरीको सामाजिक सञ्जाल निगरानी डेस्कले गलत सूचना, दुष्प्रचार र अफवाह फैलाउनेहरूमाथि कडा कारबाही गर्ने जनाएको छ ।

काठमाडौँ उपत्यका र पोखरामा विशेष कडाइ

सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी साधन छुट्ने स्थानबाटै चालकको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) जाँच गर्ने र लामो दूरीका गाडीमा दुई जना चालकको व्यवस्था अनिवार्य गरिएको छ । ओभरलोड, टिकट कालोबजारी र यात्रुलाई दिइने सास्ती रोक्न कडाइ गरिएको छ । यसै क्रममा, काठमाडौँ उपत्यकामा असोज १६ देखि कात्तिक ३० गतेसम्म (४५ दिन) का लागि ३ हजार ५ सय ६ जना प्रहरी खटाएर विशेष सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विगतका अपराधको विश्लेषण गरी ३५०६ जना जनशक्तिमार्फत मुख्य बजार, बसपार्क र नाकाहरूमा विशेष निगरानी थालिएको छ । 

उता, पर्यटकीय नगरी पोखरा भित्रिने मुख्य नाकाहरूमा कास्की प्रहरीले तालिमप्राप्त कुकुरसहित सरप्राइज चेकिङ तीव्र बनाएको छ । पोखरा–२५ सुइखेतलगायतका क्षेत्रमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउने कुकुर प्रयोग गरी आकस्मिक जाँच भइरहेको छ ।

सर्वसाधारणलाई प्रहरीको आग्रह

लामो समयका लागि घर छाडेर जाँदा ढोका–झ्याल सुरक्षित रूपमा बन्द गर्न, छिमेकी वा नजिकैको प्रहरी कार्यालयलाई जानकारी गराउन र घर खाली रहेको सूचना सामाजिक सञ्जालमा सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ । साथै भीडभाडमा गहना, नगद र महँगा सामान बोकेर हिँड्दा सजग रहन आग्रह गर्दै प्रहरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र लैङ्गिक अल्पसङ्ख्यकमाथि हुने हिंसाप्रति ‘शून्य सहनशीलता’ को नीति लिइएको स्पष्ट पारेको छ । चाडबाडको समयमा हुनसक्ने सम्भावित आपराधिक घटना, दुर्घटना र ठगी रोक्न नेपाल प्रहरीले अपनाएको प्रविधिमैत्री र उपस्थितिप्रधान सुरक्षा नीतिले सर्वसाधारणमा सुरक्षाको अनुभूति गराएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update