काठमाडौँ । नेपाल र चीन जोड्ने सबैभन्दा व्यस्त एवं प्रमुख व्यापारिक नाका रसुवागढी गत भदौ १० गते आएको भीषण बाढीका कारण पूर्ण रूपमा तहसनहस भयो । रसुवागढी नाका खुलाउनका लागि शून्यदेखि नै पुननिर्माण गर्नुपर्ने हुनाले समय धेरै लाग्नसक्छ । उता मुस्ताङको कोरला नाकासमेत पहिरोका कारण अवरुद्ध बनेपछि अब चीनसँगको आयात–निर्यातका लागि काठमाडौँबाट सबैभन्दा छोटो, नजिकको र एकमात्र मुख्य विकल्पका रूपमा तातोपानी (कोदारी) नाका नै बाँकी रहेको छ । तर, तातोपानी खुलाउन चीनले अझै सक्रियताले देखाएको छैन । मनसुनको जोखिम र प्राविधिक कारण देखाउँदै चिनियाँ पक्षले गत साउन १ गते (जुलाई १६) देखि नै तातोपानी नाका औपचारिक रूपमा बन्द गरेको थियो । नेपाली चाडबाड नजिकिँदै गर्दा चीनबाट आयात हुने अर्बौँका सामान सीमापारि नै रोकिँदा व्यवसायी र उपभोक्ता मारमा परेका छन्, जसले गर्दा तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चौतर्फी दबाब बढेको छ ।
नेपालतर्फको सडक चुस्त, चीनको आफ्नै अडान
तातोपानी नाका बन्द हुनुको पछाडि नेपालतर्फको खण्डमा पहिरो र अप्ठ्यारो सडक कारक रहेको चर्चा चले पनि वास्तविक अवस्था त्यस्तो नरहेको प्राविधिक अधिकारीहरूले स्पष्ट पारेका छन् । सडक डिभिजन चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार नेपालतर्फ सिमानासम्म पुग्ने राजमार्गमा सवारी आवागमन रोक्नुपर्ने कुनै समस्या छैन । वर्षायाममा समेत एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेको र ४५ फिटका ५७ वटा ठूला कन्टेनरसहित अड्किएका लोडेड सवारीसाधन सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइसकिएको उनले बताए । अब बर्खा पनि सकिएकाले सडकलाई दुवैतर्फ सहज सञ्चालनयोग्य बनाउन सडक विभाग तयार रहेको र नाका खुलेको अवस्थामा सडकका कारण एक घण्टा पनि गाडी नरोकिने दाबी नेपाली प्राविधिक टोलीको छ ।
सरकार र निजी क्षेत्रको तीव्र कूटनीतिक पहल
नाका खुलाउन सरकार र निजी क्षेत्र दुवैले कूटनीतिक पहल तीव्र पारेका छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षलाई औपचारिक पत्र पठाउँदै रोकिएका सामान आयातका लागि नाका खुलाउन आग्रह गरिसकेको छ । नेपाल चेम्बर अफ कमर्स र एफएनसीसीआईका प्रतिनिधिहरूका साथै मन्त्रीहरूले चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गरी प्राविधिक एवं कूटनीतिक सहजीकरणका लागि आग्रह गरेका छन् । यसै सिलसिलामा गत असोज १३ गते परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा अर्थ, पूर्वाधार, सडक विभाग र स्थानीय प्रशासन सम्मिलित उच्चस्तरीय प्रतिनिधिमण्डलले कोदारी नाकाको स्थलगत निरीक्षण एवं संयुक्त अनुगमन गरेको थियो । संयुक्त अनुगमनमा चिनियाँ प्राविधिक टोलीसमेत सहभागी रहेको थियो भने चीनले सडक मर्मतका लागि आफ्नो तर्फबाट ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको जनाएको थियो ।
मन्त्री भन्छन्– चीनको ‘ग्रिन सिग्नल’ पाउन बाँकी
मंगलबार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष सम्पूर्ण रूपमा तयार भए पनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त भइनसकेको जानकारी दिए । विपद्को समयमा चिनियाँ सरकार नाका खोल्न केही हदसम्म अनिच्छुक हुने परिपाटी देखिएको भन्दै मन्त्री लम्सालले दैनिकजसो भइरहेको संवादमार्फत चाँडै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । साथै, उनले चीनसँगको प्रमुख नाका रसुवागढीलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न नुवाकोटको विदुरलाई ‘ट्रेड सिटी’, ‘इन्डस्ट्रियल सिटी’ र ‘स्याटेलाइट सिटी’का रूपमा विकास गर्ने मास्टर प्लान बनाइरहेको समेत जानकारी गराए ।
विपद्का कारण मुख्य नाकाहरू ठप्प हुँदा मुलुकको वैदेशिक व्यापार र आपूर्ति प्रणालीमा गम्भीर धक्का पुगेको छ । नेपालतर्फको सडक संरचना तयारी अवस्थामा रहेकाले अब चिनियाँ पक्षले देखाएको सुरक्षा र प्राविधिक चासोलाई संवादमार्फत सम्बोधन गरी तत्काल तातोपानी नाका सञ्चालनमा ल्याउनुको विकल्प छैन । चिनियाँ पक्षबाट छिटोभन्दा छिटो ‘ग्रिन सिग्नल’ पाएमा यसले चाडबाडको समयमा बजारमा हुने अभाव र महँगीलाई रोक्न र दुई देशबीचको ठप्प व्यापारिक गतिविधिलाई पुनः चलायमान बनाउन ठूलो राहत दिनेछ ।


