News 24 Television
भीष्म पितामहसँग तुलना, राष्ट्रिय भेलाको तयारी र सत्ता समीकरणको नयाँ खेल

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र जस्तोसुकै आन्तरिक असन्तुष्टि, घेराबन्दी र दबाबका बाबजुद नेतृत्वमा सतिसालझैँ अडिग रहँदै आएका छन् । आफूलाई २०७७ सालदेखि नै पार्टीभित्र कमजोर बनाउने र नेतृत्वबाट हटाउने प्रयास भए पनि महाभारतका भीष्म पितामहझैँ सरशैयामा पुग्दा समेत नढल्ने दाबी उनले गर्दै आएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमहरूमा आफ्नै सहयात्रीहरूले ‘ग्याम्म छुरी हानेको’ भन्दै आक्रोश पोखेका ओलीले आफू बुढो भइनसकेको र चितामा नपुग्दासम्म पार्टी नछाड्ने स्पष्ट संकेत दिएका छन् । साढे पाँच दशकभन्दा बढी लामो राजनीतिक जीवन र जेलनेलको इतिहास सम्झँदै उनले विरोधीहरूका जुनसुकै षड्यन्त्रलाई चिर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने अठोट व्यक्त गरेका छन् ।

पुस्तान्तरणको विवाद र नेतृत्वको जिद्दी

समाजमा व्याप्त पुस्तान्तरणको बहस र युवा नेतृत्वको मागलाई अध्यक्ष ओलीले ठाडै अस्वीकार गर्दै आएका छन् । समाजमा जात, धर्म र भूगोलको विभाजन असफल भएपछि अहिले बाबु–छोरा र हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप उनको छ । प्राध्यापक बन्न लेक्चररबाटै सुरु गर्नुपर्ने प्राज्ञिक नियमको उदाहरण दिँदै उनले १९–२० वर्षको उमेरमा पार्टी प्रमुख हुनुपर्छ भन्ने माग हास्यास्पद भएको बताए । शारीरिक र मानसिक रूपमा काम गर्न नसक्ने अवस्था आएमा आफू आफैले छाड्ने तर अहिले नै लहडको भरमा नेतृत्व हस्तान्तरणको लफडामा नपर्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीभित्र आफ्ना सबै राजनीतिक तगाराहरूलाई पन्छाउँदै आएका ओलीले विधानको उमेर हद र आन्तरिक दबाबलाई चिर्दै आगामी दिनमा पनि पार्टीको कमान्ड आफ्नै हातमा राख्ने प्रष्ट संकेत दिएका छन् ।

मंसिरमा राष्ट्रिय भेला र शक्ति प्रदर्शन

पार्टीभित्र आफ्नो अडान र नेतृत्वलाई थप सुदृढ बनाउन एमाले अहिले ठूलो साङ्गठनिक तयारीमा जुटेको छ । आगामी मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गर्दै एमालेले पहिलो तयारी बैठकसमेत सम्पन्न गरिसकेको छ । उपमहासचिव लेखराज भट्ट, सचिव भानुभक्त ढकाल र महेश बस्नेतको उपस्थितिमा बसेको बैठकले अभिमुखीकरणमूलक रहने उक्त भेलालाई व्यवस्थित बनाउने खाका कोरेको छ । केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, पालिका र जनसंगठनहरूबाट गरी कुल ३ हजार १६४ जना प्रतिनिधि सहभागी हुने यो भेलामार्फत ओलीले वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर पार्टी नीति चुस्त बनाउने र आफ्नो नेतृत्वलाई तल्लो तहसम्म अझ बलियो गरी अनुमोदन गराउने रणनीतिक कदम चालेका छन् ।

ओलीको अबको रणनीतिक चाल ?

साङ्गठनिक जग बलियो बनाउँदै ओली बाह्य राजनीतिक वृत्तमा पनि उत्तिकै आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । एमालेविरुद्ध २०७७ सालदेखि नै चौतर्फी घेराबन्दी र पार्टी फुटाउने खेल भएको दाबी गर्दै उनले जागरण अभियान र राष्ट्रिय भेलामार्फत पार्टी पङ्क्तिलाई जुझारू बनाउन खोजेका छन् । नेपालको लोकतन्त्र, राष्ट्रिय अस्मिता र स्वाधीनता कमजोर पारिएको बताउँदै ओलीले आवश्यक परेमा राज्यको दमनविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनको पछिल्लो जोस र आक्रामक भाषणहरूले के स्पष्ट पार्छ भने उनी केवल मौन दर्शक भएर बस्ने पक्षमा छैनन्, बल्कि वर्तमान सरकारलाई दबाबमा राख्दै भित्रभित्रै नयाँ सत्ता समीकरण वा सत्ता ढाल्ने खेलमा आफ्नो रणनीति बुनिरहेका छन् ।  

ओलीको राजनीतिक जिजीविषा र रणनीतिक क्षमतालाई कम आँक्न सकिँदैन । पार्टीभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन र पुस्तान्तरणको बहसलाई मत्थर पार्न उनले मंसिरको राष्ट्रिय भेलालाई ढालका रूपमा प्रयोग गर्दैछन् । आफ्ना विरोधीहरूलाई तह लगाउने कलामा माहिर ओलीले एमालेको साङ्गठनिक शक्ति र नयाँ राजनीतिक गठबन्धनमार्फत फेरि सत्तामा फर्कने दाउपेच बुनिरहेका छन्, जसले आगामी दिनमा समग्र देशको शक्ति सन्तुलनलाई नयाँ मोड दिन सक्छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update