डोटी । डोटीको बोगटान फुड्सिलमा १० करोडभन्दा बढी लागतको विद्युत् विस्तार आयोजना अलपत्र परेको छ । दुई पटक म्याद थप्दासमेत काम पूरा भएको छैन । ठेकेदार र प्राधिकरणको ढिलासुस्तीको मारमा स्थानीय नागरिक परेका छन् । बत्ती नहुँदा अझै तीन गाउँका बस्ती अन्धकारमै छन् ।
ग्रामीण बस्तीमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु¥याउने सरकारी योजना डोटीको बोगटान फुड्सिलमा अलपत्र परेको छ । १० करोडभन्दा बढी लागतको विद्युत् विस्तार आयोजना सम्झौता भएको तीन वर्ष पुग्न लाग्दासमेत अधुरै छ ।
दुई पटक म्याद थप्दा पनि कामले गति लिन सकेको छैन । ठेकेदार र विद्युत् प्राधिकरणबीच दोषारोपण चलिरहँदा स्थानीय भने अझै अन्धकारमा बस्न बाध्य छन् ।
सरकारले डोटीका बोगटान फुड्सिल, बडिकेदार, जोरायल, केआईसिंह, आदर्श, पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना अघि बढाएको थियो ।
सोही योजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले २०८० असोज १२ गते एमए शक्ति क्रिष्टल जेभीसँग १० करोड ४९ लाख २५ हजार रुपैयाँभन्दा बढीमा ठेक्का सम्झौता गरेको थियो । १८ महिनाभित्र सम्पन्न हुनुपर्ने आयोजना दुई पटक म्याद थप्दासमेत पूरा हुन सकेको छैन । हालसम्म भौतिक प्रगति करिब ७८ प्रतिशत मात्रै छ ।
निर्माण कम्पनीले चार करोड रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेको छ । तर विद्युत् विस्तार नहुँदा स्थानीयले दैनिक जीवनमै समस्या भोगिरहेका छन् ।
विद्युत् अभावले व्यापार व्यवसायदेखि उद्योगधन्दा र विद्यार्थीको पठनपाठनसम्म प्रभावित भएको छ । मोबाइल चार्ज गर्नेदेखि फोन र इन्टरनेट सेवा प्रयोग गर्नसमेत स्थानीयलाई कठिनाइ छ । नेपाल टेलिकमको सेवा पनि सहज रूपमा उपयोग गर्न पाएका छैनन् ।
गाउँपालिकाले भने निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीलाई आयोजना अलपत्र पर्नुको मुख्य कारण मानेको छ । काम अघि बढाउन प्राधिकरण र सम्बन्धित मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाको गुनासो छ ।
दुई पटक म्याद थप्दासमेत काम नसकिएको र फेरि म्याद थप्ने तयारी भएपछि गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले आक्रोश व्यक्त गरेका छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत सेवाबाट वञ्चित गर्नु स्वीकार्य नहुने भन्दै उनले अब पनि ढिलाइ भए स्थानीय चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
गाउँपालिकाका केही वडामा आंशिक रूपमा बत्ती बले पनि वडा नम्बर ५ को सातफरी, वडा नम्बर २ को केदारआखडा र वडा नम्बर ३ को कानाचौरमा कामसमेत सुरु भएको छैन । निर्माण कम्पनीले भने प्राधिकरणबाट सामग्री उपलब्ध हुन नसक्नु, आफ्नै कमजोरी र स्थानीय पेटी ठेकेदारको लापरबाहीले आयोजना प्रभावित भएको स्वीकार गरेको छ । कम्पनीले आगामी फागुनभित्र सबै काम सक्ने दाबी गरेको छ ।
यता विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले पनि केन्द्रीय कार्यालयबाट सामग्री उपलब्ध नहुनु र निर्माण कम्पनीको कमजोरी दुवैलाई ढिलाइको कारण मानेको छ । ठेकेदारलाई तत्काल काम सुरु गरी तीन महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइएको र त्यसो नभए कारबाही गरिने प्राधिकरणको भनाइ छ ।
करोडौँको आयोजना, पटक–पटक म्याद थप र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले दुर्गमका नागरिकको विद्युत् पाउने अधिकार नै ओझेलमा परेको छ । ठेकेदार र प्राधिकरणको दोषारोपणले स्थानीयको घरमा उज्यालो पुग्दैन । अब आश्वासन होइन, कामको परिणाम चाहिएको छ ।


