News 24 Television
 पढ्न जाँदा ज्यान जोखिममा, भवन बनाउन छैन पैसा !

बाजुरा । असोज १६ गते बझाङको तलकोट केन्द्र विन्दु भएर गएको भुकम्पले बाजुरा जिल्ला त्रिवेणी नगरपालिका ५ किम्नीको जनज्योति आधारभूत विद्यालयलाई प्रभावित बनायो । विद्यालयको भवन चिराचिरा पारि चर्के पछि यस विद्यालयले केही समय पठनपाठन नै बन्द गर्नु पर्यो । 

धेरै दिन पढाई रोक्दा विद्यार्थीमा असर हुने भएपछि चर्केकै भवनभित्र पढाउन थालिएको पनि ६ महिना हुन लाग्यो । तरपनि अझै क्षतिग्रस्त भवन पुनःनिर्माण नहुँदा विद्यार्थीको ज्यानै जोखिममा छ । 

यस जनज्योति आधारभुत विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ ।  विद्यालयमा जम्मा दुईवटा भवन रहेका छन् । दुईवटा भवन मध्ये दुई कोठे एउटा भवनमा अफिस रहेको  छ भने अर्को कोठामा कक्षा ३ का विद्यार्थीहरूलाई पढाउने गरिएको छ । विद्यालयमा जम्मा ९५ जना विद्यार्थीहरू रहेका छन् । 

गएको असोज १६ गते गएको भुकम्पका कारण दुई कोठे भवन र ईसिडी भवन पुरै चर्कियो ।  भुकम्प आएकै दिनदेखि विद्यालय ब्यवस्थापन समिति र वडा कार्यालयलाई जानकारी गराएपनि अहिले सम्म कुनै ठाउँमा भवन पुन निर्माणका लागि पहल नहुदा चर्किएकै भवनमा विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बाध्यता छ । 

विद्यार्थीहरु घाम लागेको दिन चौरमा बसेर पठनपाठन गर्छन् भने पानी परेपछि भुकम्पले चर्काएकैे कोठामा बसेर पठनपाठन गर्ने गरेका छन् । हावाहुरी र पानी पर्दा कति बेला चर्केको भवन भत्किन्छ र आफुलाई किच्छ भन्ने डरले सताउछ बालबालिकालाई । 

भवनको यो कन्तविजोकका कारण विद्यार्थी र शिक्षक सबैको ज्यान जोखिममा छ । ज्यानकै जोखम हुँदा पनि स्थानीय सरकारको प्रभावकारीता भने देखिएको छैन । हुनत, नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ छुट्टयाइएको छ तर यति बजेटले पुनःनिर्माण पुग्दैन । अब आगामी आर्थिक वर्षमा मात्रै थप बजेट छुट्याइने बताउछ स्थानीय सरकार । 

स्थनीय सरकारले पनि माथिल्ला सरकारहरु र अन्य सरकारी गैरसरकारी संघसंस्थासँग भवन निर्माणका लागि सहयोग जुटाउने प्रयास त गरिरहेको छ । तर, बजेट जुटेको छैन । यस्तो अवस्थाले विद्यालयमा पढ्नेदेखि काम गर्ने सबैको ज्यान जोखिममा रहेको देखाउछ । यो विषय संवेदनशिल भएकाले सम्बद्ध सबै पक्षको ध्यान पुग्नु आवश्यक छ । 

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update