News 24 Television
बेथितिले थला पर्दै त्रिवि, उत्तरपुस्तिका हराउनेलाई के होला ?

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका हराउने बिषय अब नौलो भएनन् । पटक–पटक दोहोरिने यस्ता घट्नाले त्रिविको विश्वसनियतामा मात्रै नभई पदाधिकारीको कार्यक्षमतामाथि नै प्रश्न उठेको छ । यस्ता लापरबाहीमाथि अनुसन्धान हुने तर कारबाहीको प्रक्रिया नै रोक्ने प्रवृत्तिले त्रिविमाथि मात्रै नभएर शैक्षिक प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ । 

परीक्षा सकेर नतिजाको पर्खाईमा रहेका परीक्षार्थीलाई फेरि परीक्षा केन्द्रसम्म पुगेर दोश्रो पटक उत्तरपुस्तिकाका पाना पल्टाउने स्थिति आइलागेको छ । त्रिविको लापरबाहीले परीक्षार्थीका उत्तरपुस्तिका नै हराएपछि यस्तो स्थिति आइलागेको हो । परीक्षा नियन्त्रण कार्यालयबाट १ सय ८३ वटा  उत्तरपुस्तिका कसरी हराए भन्ने ठोस कारण अझै पत्ता लाग्न सकेको छैन । 

उत्तरपुस्तिका हराएको विषयमा परीक्षा समितिले राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख ईश्वरीप्रसाद कँडेलको संयोजकत्वमा दुई सदस्यीय छानबिन समिति गठन गरेपनि गर्यो । यो समितिले परीक्षा समितिलाई प्रतिवेदन पनि बुझाई सकेको छ । 

छानविन समितिको प्रतिवेदन बुझेपछि त्रिविले पुनः सत्य तथ्य छानविन गर्ने भन्दै अर्को समिति गठन गरेको छ । त्रिविको कार्यकारी परिषद्ले पुर्व रजिष्ट्रार प्राध्यापक चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरिय समिति गठन गरेको छ । यो समितिलाई ३० दिनको कार्यादेशसहित प्रतिवेदन बुझाउन निर्देश गरिएको छ । उत्तरपुस्तिकाको प्राप्तांक मार्क लेजरमा चढाउन बाँकी हुदा १ सय ८३ वटा उत्तरपुस्तिका हराएको पत्ता लागेको थियो । 

त्रिविको लापरवाहीका कारण नतिजाको पर्खाईमा बसेका विद्यार्थी पुनः परीक्षामा सामेल हुँदैछन् । परीक्षा दिएको भन्डै १ बर्ष पछि उनीहरु फेरि सोही विषयको परीक्षामा सहभागी हुदैछन् । गएको बैसाख १४ गते दिएको स्नातक तह पहिलो बर्षको जनसंख्या बिषयको १ सय ८३ वटा उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयबाट नै हराएको हो । 

उसो त त्रिविवाट उत्तरपुस्तिका हराएको पहिलो पटक भने होइन । यसरी नतिजाको सम्मुखमै उत्तरपुस्तिका हराउनुले शिक्षा प्रणालीमाथि नै गम्भीर संकट आइलाग्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । 

त्रिविले उत्तरपुस्तिका हराउने गरेको घटना यो पहिलो भने होइन् । यसअघि पनि पटक–पटक उत्तरपुस्तिका हराउने र परीक्षार्थीलाई पुनः परीक्षामा सामेल गराउने विषय चलिरहेकै छ । तर, उत्तरपुस्तिका हराउने विषयमा भएका छानविन प्रतिवेदन कार्यान्वयनको साटो ढाकछेप गर्ने र लापरबाही गर्नेलाई उन्मुक्ति दिने प्रचलनका कारण त्रिवि वेथितिको चंगुलमा फस्दै गएको छ । 

यस्तो छ विगत

त्रिविले गएको वर्ष बीबीएस प्रथम वर्षको एक विषयको उत्तरपुस्तिका नभेट्टाएपछि २०७९ पुसमा पुनः परीक्षा लियो । यसरी नै २०७८ सालमा पनि झापास्थित दमक बहुमुखी क्याम्पसमा परीक्षार्थीको उत्तरपुस्तिका हराएको पाइएको थियो । बिजनेस रिसर्च मेथड्स विषयको पुनः परीक्षा लिएर नतिजा प्रकाशन गरिएको थियो । २०७४ सालमा लिइएको बीबीएस तेस्रो वर्षको ’कर प्रणाली’ विषयका केही उत्तरपुस्तिका पनि हराएका थिए । 

सिन्धुली बहुमुखी क्याम्पसका उत्तपुस्तिका हराएपछि त्यहाँ पनि पुनः परीक्षा लिइएको थियो । यस्तै, २०७२ सालमा प्राध्यापकको लापरबाहीका कारण स्नातक तह तेस्रो वर्षको परीक्षा दिएका नेपाली विषयका ४२ जना परीक्षार्थीको उत्तरपुस्तिका पनि हराएको थियो । उत्तरपुस्तिका परीक्षण गर्न घर लगेका प्राध्यापकले उत्तरपुस्तिका हराएको पत्ता लागेको थियो । 

उत्तरपुस्तिका हराउने, छानविन समितिले प्रतिवेदन पनि बुझाउने तर कार्यान्वयनमा नजाने प्रवृत्तिका कारण त्रिवि थला पर्दै गएको छ । मुलुकको जेठो विश्वविद्यालय सुधारका लागि सरकारी तहबाटै बहस छलफल चलाइएपनि स्थिति अझैं सुध्रिन सकेको छैन् । जुन तथ्यले नै त्रिविको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update