काठमाडौं । वाइडबडी प्रकरण, नेपालमा भएका ठुला भ्रष्टाचारका उदाहरण मध्येको एक हो । विगतदेखि नै वाइडबडी प्रकरणको चर्चा हुँदै आए पनि यसले निर्णायक मोडतर्फको यात्रा तय गरेको थिएन । तर, विहीबार यस प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । के हो त वाइडबडी प्रकरणको इतिवृति ?
अनि अख्तियारको यस मुद्दाले कसको भविष्यमाथि कस्तो छाउँदैछ संकट ? अभियोगमा कसका विरुद्ध के छ दाबी ?
नेपालमा बहुचर्चित र ठुलो रकमको भ्रष्टाचार भएको आशंका गरिएको प्रकरण हो वाइडबडी प्रकरण ।
नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिद गरिएको थियो ।
यस क्रममा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।
यही निष्कर्षसहित आयोगले बिहीबार विशेष अदालतमा ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
– करिब २४ अर्ब रुपैयाँका दुई वाइडबडी जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्ष अख्तियारको छ ।
वाइडबडीमा भ्रष्टाचार : क–कसलाई बनाइयो प्रतिवादी
– कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही
– नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार
– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव
एवम् नेवानीका तत्कालीन संचालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारी
– नेवानीका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह
– तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन
– तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठ
– निगमका निर्देशकत्रय उपेन्द्र पौडेल, उमेश पौडेल र श्रवण रिजाल
– निगमका तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल र वर्तमान
उपनिर्देशक बृहत्तमान तुलाधार
– जहाज खरिदका समय परामर्शदाताको भूमिका खेलेका सम्पत्ति
शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक एवम् नेवानी सञ्चालक समितिका
तत्कालीन सदस्य जीवनप्रकाश सिटौला र नेपाल नागरिक उड्ययन
प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य अच्युतराज पहाडी
– भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेवानी सञ्चालक
समिति सदस्य शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव एवम्
निगमका तत्कालीन सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने
– नेवानीका तत्कालीन सञ्चालक समिति सदस्य निमानुरु शेर्पा, टेकनाथ आचार्य र मुक्तिनाथ पाण्डे
– निगमका तत्कालीन कायममुकायम निर्देशक रामहरि सेढाई, वर्तमान नायव महाप्रबन्धक जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभाशकुमार आचार्य
– निगमका तत्कालीन निर्देशक गणेबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन निर्देशक तथा हालका वरिष्ठ क्याप्टे सुवास रिजालविरुद्ध पनि यो प्रकरणमा मुद्दा दर्ता
निगमले पाँच वर्षअघि वाइडबडी विमान खरिद प्रकृया अघि बढाएपछि कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो । तर, अख्तियारले यस उजुरीलाई छानबिनका लागि अगाडि बढाएन । तर, गत मंसिरमा सार्वजनिक सूचना नै जारी गरेर जहाजर खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो ।
त्यसपछि लगातार छानबिन र अनुसन्धान जुटेको अख्तियारले अहिले बल्ल अनुसन्धान सकेर मुद्दा चलाएको हो ।
वाइडवडी प्रकरणमा विगतदेखि नै आरोपप्रत्यारोप चल्दै आएको थियो । यसमा राजनीतिक दलले आफु अनुकुल भाषण गर्ने र राजनीतिक दुनो सोझ्याउने गर्दै आएका थिए ।
विगतमा संसदीय समितिमै नेताहरु बाजाबाजको अवस्थामा पुग्ने गरेका थिए । तर, यस प्रकरणमाथिको छानविनमा राजनीतिक दबाब रहदै आएको टिप्पणी हुनेगरेका थिए ।
