News 24 Television
१५ महिनाभित्र तीनपटक विश्वासको मत लिनु बिडम्वना : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीनपटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताएका छन् । 

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले १५ महिनाभित्र आफूले तीनपटक विश्वासको मत लिने कुरा बिडम्वना भएको बताएका हुन् । उनले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन काँग्रेसलाई राष्ट्रपति दिएको पनि बताए । उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको जिकिर गरे ।  सरकारको पुनःगठन भइरहने उनको भनाइ छ ।

‘राजनीतिक दलहरु अपासी समझदारीबाट जानेतिर भन्दा अस्वस्थ प्रतिष्पर्धामै जाने र त्यसको निम्ति विभिन्न किसिमका क्रियाकलाप गर्नेबाट हामी अहिले पनि मुक्त छैनौँ,’ उनले भने, ‘अब यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । मैले जटिल परिस्थितिका बाबजुत प्रमुख शक्तिहरुको बीचमा समझदारी नै बनाएर मात्रै यो संविधान कार्यान्वयनलाई पनि राम्रोसँग गति दिन सकिन्छ, राजनीतिक स्थायित्व र विकासलाई पनि गति दिन सकिन्छ भन्ने नै हो । यहाँहरुले कसरी हेरिराख्नुभएको छ, मलाई थाहा छैन । हुनतः अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि । डेढ वर्ष पनि भएको छैन । १५ महिना भित्र लिएँ । तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुन एउटा बिडम्वना पनि भन्न सकिन्छ । अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ । मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो ।’

प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको पनि बताए । उनले देशको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update