News 24 Television
कतारी राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

बुधबार सोल्टी होटलमा उनीहरुबीच द्विपक्षीय वार्ता भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा थानी मङ्गलबार नेपाल भ्रमणमा आएका थिए । 

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।  

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।

दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नुहुनेछ ।

कतारी विशिष्ट अतिथि थानी आजै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update