News 24 Television
नेपाल–चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ । 

बिहीवर अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे । 

चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सो सम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा शुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएअनुरुप नै स्वास्थ्य मन्त्रालय र चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सीबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार चीनले बीपी कोईराला मेमोरियल क्यान्स अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने भएको छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा थप सहयोग वृद्धि हुने अपेक्षा गरेको बताए । उनले नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमाआपसी सहयोग र मित्रतालाइ थप सुदृढ बनाउने बताए । 

चीनका राष्ट्रपति सी जिन पिङले ५ वर्षअघि गरेको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पु¥याएको बताउँदै उनले उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौताहरु कार्यान्यवन हुन बाँकी भएको भन्दै कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए । उनले विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी वृद्धि भइरहेको भन्दै आगामी दिनमा थप सहायता र लगानी बढाउन आग्रह गरे । 

सम्झौतामा हस्ताक्षरपछि चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले नेपालसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौताका लागि र लगानी सम्मेलनमा सहभागिता जनाउनको लागि नेपाल आएको बताए  । उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको र गत वर्ष १० लाख पर्यटक भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गरे । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update