News 24 Television
आगलागी पीडितको विचल्लीः सरकार खोई ?

काठमाडौं । देशभर लागेको आगो र डढेलोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानव जीवनमाथि नै संकट देखा परिरहेको छ । 

देशका ५० बढि जिल्लाका ३६० बढि वनमा आगलागी भइरहेको बताइएको छ । आगलागी नियन्त्रणमा स्थानीय, प्रदेश र संघ सरकारले उपर्युक्त कदम चाल्न नसक्दा जनतामा आक्रोश देखिन थालेको छ । 

देशका विभिन्न ५० जिल्लाका सयौं वनमा आगलागी भइरहेको छ । देशभर भइरहेको आगलागीका कारण नेपालको वायुको स्तर समेत अत्यन्तै नाजुक देखिएको छ भने वातावरण धुम्म बनिरहेको छ । 

यस्तोमा महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलगाीबाट पीडित स्थानीयले नागरिकप्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । 

उनीहरुले संघ र प्रदेश सरकारले राहतको घोषणा चाँडो भन्दा चाँडो गर्नुपर्नेमा यस्तो नगरेको भन्दै दुखेसो पोखिरहेका छन् । 

आगलागी भएको बस्तीमा अवलोकन एवं निरीक्षणका लागि पुगेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रदेश र संघीय सरकारले चाँडो भन्दा चाँडो राहतको घोषणा गर्नुपर्नेमा जोड दिए । 

आगलागी पीडितहरुले खाने अन्न सबै जलेट नष्ट भएकोदेखि घरबारबिहीन बनेको भन्दै राज्यसँग विलौना पोखिरहेका छन् । सरकारले केहि गर्दिए हुन्थ्यो भन्नेबाहेक पीडितसँग केहि गर्ने अवस्था भने छैन् । 

तर, यता मटिहनी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले भने आगलागी पीडितका लागि राहत उपलब्ध गराउने काम शुरु भएको बताएका छन् । 

नगरपालिकाले चिउरा, चिनी, त्रिपाल, बाल्टिन र जग उपलब्ध गराएको उनको भनाई छ । स्थानीय सरकारले आगलागी पीडितका लागि केहि राहतका सामाग्री उपलब्ध गराएपनि यो पर्याप्त बन्न भने सकिरहेको छैन् । 

गएको बुधवार महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएका थिए । मध्यान्ह १२ बजे सल्केको आगो साँझ ६ बजे नियन्त्रणमा आएको थियो । 

आगलागीबाट घरबारबिहीन भएकाहरु त्रिपालमुनि रात काट्न बाध्य छन् । उनीहरु गर्मी समयमा घरभित्रै बस्नुपर्ने बेलामा घाममा बस्नुपरेको र यसले अन्य रोगको जोखिम बढाउनेमा चिन्तित छन् । 

आगलागी पीडितको वास खुला आकाशमै हुने स्थिति मात्रै छैन्, तराईको चर्को गर्मीका कारण बालबालिका, वृद्ध, सुत्केरी र अशक्त नागरिकमाथि समस्या निम्तिने खतरा समेत उत्तिकै बढेको छ । यसतर्फ प्रदेश र केन्द्र सरकारको ध्यान भने जान सकेको देखिन्न ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update