News 24 Television
लगानीकर्ता उत्साहित, नयाँ विश्वासको वातावरण बन्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताएका छन् ।

आजदेखि यहाँ सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालमा लगानीको उचित वातावरण बनाइएसँगै लगानी भित्रने विश्वास व्यक्त गरे ।

    “हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ । आजदेखि नयाँ विश्वासको वातावरण बनेको छ”, प्रधानमन्त्री दाहालले भने । लगानी सम्मेलनको उद्घाटन सत्र उत्साहजनक रहेको बताउँदै उनले सहभागी मुलुक र लगानीकर्ताको सहभागिताको दृष्टिकोणबाट निकै राम्रो भएको बताए ।

    “उद्घाटन सत्र धेरै राम्रो भयो । हामीले सोचेकोभन्दा सहभागीको सङ्ख्या धेरै बढ्यो । एक हजार दुई सय हाराहारी होला भनेको दुई हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रह्यो”, प्रधानमन्त्री दाहालले भने, “४५-५० देशको सहभागिता रहला भन्ने अनुमान गरिएको थियो । सहभागी मुलुकको सङ्ख्या ६० भन्दाबढी रह्यो ।”

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update