News 24 Television
प्रहरीकै भवन अलपत्र, बस्न खानै मुस्किल 

मुगु । मुगुको प्रहरी चौकी नै अलपत्र भएको छ । मुगु सोरु गाउँपालिकामा रहेको प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको हो । 

ठेक्का सम्झौता भएर  काम अघि बढे पनि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो । 

मुगुको प्रहरी चौकी नै अलपत्र भएपछि सुरक्षा व्यवस्थापनमा प्रभाव परिरहेको छ । पाँच वर्ष पहिले मुगुको सोरु गाउँपालिका वडा नम्बर ९ मा निर्माण थालिएको कालै प्रहरी चौकीको भवन निर्माण कार्य अलपत्र परेको हो । 

जसका कारण दैनिक व्यवस्थापकीय पक्ष कठिन भइरहेको छ । २०७६ साल जेठ २१ गते अमर निर्माण जेभीले एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरिएको थियो । 

त्यस समय भवन निर्माणको लागत २ करोड ४६ लाख, ८४ हजार ११७ रुपैयाँ तोकिएको थियो । सम्झौता अनुसार २०७७ जेठ २० गतेभित्र भवन निर्माण सकी हस्तान्तरण गर्नुपर्ने हो । तर, निर्माण सम्पन्न गर्नु पर्ने समयभन्दा तीन वर्ष बढी समय भइसके पनि अहिलेसम्म भवन निर्माण कार्य अलपत्र छ । 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकीको लागि पर्याप्त बजेट विनियोजन नगरेपछि भवन निर्माण अघि बढ्न सकेको छैन । सुरुवाती चरणमा काम गरेका कामदारले दैनिक ७ सयका दरले ५० दिन भन्दा बढी काम गरेवापतको पारिश्रमिक समेत पाएका छैनन् ।  

यता निर्माण कम्पनीका प्रतिनिधि भने कर्णाली प्रदेश सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालय बिरेन्द्र नगर सुर्खेत बाट प्रहरी चौकी निमार्ण गर्नको लागी सम्झौता अनुसारको रकम निकाशा नहुदा आफ्नो पनि रकम फसेको बताउछन् ।

यो विषय अदालतसम्म पुगेको छ । उच्च अदालत सुर्खेत जुम्ला ईजालसमा मुद्घा दायर गरेको र हालसम्म कुनै फैसाला नभएकाले २०७८ चैत्र १६ गते सर्वोच्च अदालतमा मुद्घा दर्ता गरिएको बताउछन् निर्माण कम्पनीका प्रतिनिधि । अहिले मुद्दा सर्वोच्चमा विचाराधिन  भएकाले कामदारले ज्याला अनुसारको रकम नपाएको अवस्था छ ।  

हाल कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर सञ्चालन हुँदै आएको छ । २ करोड ४६ लाख, ८४ हजार ११७ रुपैयाँमा सम्झौता भएको भवनको निर्माण लागत बढेर अहिले ३ करोड बढी पुगेको छ ।अलपत्र प्रहरी चौकी निर्माण कार्यलाई गति दिन स्थानीय सरकार साथै सरोकारवाला निकायले पहल गरिरहेका छन् ।  

कार्यालयको ब्यारेक भवन, शौचालय तथा स्नान गृह निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक कूल ५० लाख निकासा गरेको थियो । यो रकममध्ये पनि निर्माण व्यावसायीले ४८ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ भुक्तानी पाएकाले काम अगाडि बढाएको  थियो । 

सम्झौता अनुसारको रकम निकासा नभएपछि बजेट अभावकै कारण भवनको दुई तला उकासेर अलपत्र  छाडिएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update