News 24 Television
अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो 

काठमाडौँ । अफगानिस्तानको पश्चिमी हेरात र उत्तरी सारी पुल प्रान्त र छेउछाउका क्षेत्रहरूमा विगत केही दिनहरूमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

हेरात प्रान्तमा विगत दुई दिनमा भारी वर्षा र बाढीका कारण सात जनाको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक मुसा अशहरीले पुष्टि गर्नुभयो । त्यस्तै वर्षा र बाढीले हेरातको छिमेकी फराह प्रान्तमा एक र घोर प्रान्तमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

देशको उत्तरी क्षेत्रहरूमा, मुसलधारे वर्षा र अचानक बाढीले पनि जाज्जान प्रान्तमा दुई जना र सारी पुल प्रान्तमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भारी वर्षा र बाढीका कारण जाज्जानमा एक पुरुष र एक बालकको ज्यान गएको र एक महिला घाइते भएको विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक सैयद सफतुल्लाह सफवानले बताउनु भयो । 

अप्रिल महिनामा अफगानिस्तानमा आँधी र बाढीका कारण ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने अन्य ५० जना घाइते भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update