News 24 Television
अस्पतालको एउटै कक्ष बनाउन ५ करोड हिनामिना !

रुपन्देही । रुपन्देहीको भैरहवामा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको आँखा अस्पतालको शल्यक्रिया कक्षको भवन निर्माणको ठेक्का प्रक्रिया विवादमा परेको छ । टेण्डर दर्ता गरेका दर्जन कम्पनीलाई पन्छ्याएर मिलेमतोमा आफू निकटका व्यवसायीलाई ठेक्का दिन लागिएको आरोप लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले लगाएको छ । 

करोडौं रुपैयाँको ठेक्कामा अस्पताल र निर्माण व्यवसायीबीच भएको आरोप–प्रत्यारोप अहिले अख्तियारसम्म पुगेको छ । 

नेपाल नेत्रज्योति संघद्वारा भैरहवामा संचालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको शल्यक्रिया कक्षको भवन निर्माणको ठेक्का प्रक्रियामा करिब ५ करोड रुपैयाँ आर्थिक चलखेल भएको आरोप लागेको छ । टेण्डर हालेका १४ कम्पनीलाई पन्छ्याएर मिलेमतोमा आफू निकटका व्यवसायीको ठेक्का स्वीकृत गर्न लागिएको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देही प्रतिवादमा उत्रिएको छ । यस विषयमा निर्माण व्यवसायी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा उजुरी लिएर पुगेका छन् । 

बैशाख २१ गते बुटवलमा पत्रकार सम्मेलन गरेर निर्माण व्यवसायीले गैरसरकारी संस्थाबाट संचालित अस्पतालको ठेक्का प्रक्रियामा ५ करोड बढी रकम अपचलन गर्न मिलेमतो गरिएको दावी गरेका छन् । १७ वटा बोलपत्र परेकोमा अस्पतालले १४ वटा कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरेको थियो । ३ वटाको मात्रै बोलपत्र स्वीकृत गरेर त्यसमध्ये नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि, काठमाडौंलाई भ्याटसहित २२ करोड १० लाख रुपैयाँमा आसय पत्र दिएको व्यवसायीको आरोप छ । यसबारे निर्माण व्यवसायीले सत्यतथ्य बाहिर ल्याउन समेत माग गरेका छन् ।

१४ वटाको प्रस्ताव अस्वीकृत गर्दा कविन्द्र निर्माण सेवा प्रालि, कीर्तिपुर, एमपीए कन्स्ट्रक्सन एण्ड विल्टर्स प्रालि, काठमाडौं र नव सिर्जनशीलको स्वीकृत भएको थियो । यी तीन कम्पनीका संचालक एकअर्का नातेदार रहेको र मिलेमतो गरेको आरोप लगाइएको छ । 

निर्माण व्यवसायीका अनुसार अस्वीकृत भएकामध्येका एनबी कन्स्ट्रक्सन प्रालिले १७ करोड, बाबुल कन्स्ट्रक्सन प्रालिले १७ करोड ५० लाख रकममा भवन निर्माण गर्न प्रस्ताव हालेका थिए । तर, अस्पताल प्रशासनले भ्याटसहित २२ करोड १० लाख रुपैयाँको प्रस्ताव हालेको नव सिर्जनशीलको बोलपत्र स्वीकृत गरि आसय पत्र दिएको छ ।

 ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम प्रस्ताव हाल्नेको बोलपत्र स्वीकृत हुनुपर्नेमा बढी हाल्नेको स्वीकृत भएपछि व्यवसायीले विरोध गरेका हुन् । तर अस्पताल प्रशासनले भने व्यवसायीको आरोपको खण्डन गरेको छ । अनुभव, कागजात, बैंक भौचर र कम्पनी अद्यावधिक समेत नभएका कम्पनीलाई अस्वीकृत गरिएको अस्पताल र परामर्श दाताको दावी छ । 

तर २ करोड भन्दा माथिका ठेक्का प्रस्तावमा अनलाइन विलिङ गरी प्रस्ताव लिनुपर्नेमा त्यसो नगरी हार्डकपी नै माग्नुले आर्थिक चलखेल भएको प्रमाणित हुने व्यवसायीको आरोप छ । तर, अस्पतालले भने गैरसरकारी संस्था भएको र नेत्रज्योति संघको विधान अनुसार चल्ने भएकाले नियमसंगत नै भएको दावी गरेको छ । 

अस्पतालले गत चैत्र १६ मा बोलपत्र आह्वान गरेको थियो । त्यसपछि १७ वटा कम्पनीले प्रस्ताव पेस भएका थिए । तर, प्राविधिक रुपमा योग्य नभएको भन्दै १४ वटा कम्पनी प्रस्ताव अस्वीकृत गरी ३ वटालाई छनोट गरेर जेठ ४ गते बोलपत्रको प्राविधिक प्रस्तावको आशय स्वीकृतिका लागि सूचना निकालिएको थियो ।

जेठ ११ गते प्राविधिक प्रस्ताव स्वीकृत ३ वटा कम्पनीको आर्थिक प्रस्ताव खोलेर सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीको जेठ १८ गते सूचना प्रकाशन गरिएको थियो । 


 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update