News 24 Television
स्वस्थ नागरिकका लागि आमा र शिशुमा राज्यको लगानी

काठमाडौं । प्रजनन स्वास्थ्यमा आमा र नवजात शिशु स्याहार महत्वपूर्ण विषय हो । नेपालमा वाल मृत्युदर र आमाको स्वास्थ्य स्थिति सुधारका लागि विभिन्न प्रयुास गरिएपनि ती अझै सार्थक बन्न सकिरहेका छैनन् ।

सरकारले दुर्गमका सुत्केरीको हवाई उद्दारदेखि विभिन्न कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी बनाउने विषयमा थप बहस छलफलको खाँचो छ । 

साथै मातृ मृत्युदर र शिशु मृत्यु दरले स्वास्थ्य प्रणलीमा मात्र नभएर समग्र मुलुकको विकासमा समेत असर पुग्ने भएकाले यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने विज्ञहरुले औंलाएका छन् । 

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । सन् १९९६ सर्वेक्षणको तथ्यांक अनुसार ५ वर्षमुनिका बालबालिकाहरुको प्रति एक हजार जीवित जन्ममा एक सय १८ को मृत्यु भएको थियो ।

साथै संर्वेक्षणमा सो मृत्युदर तुलनात्मक रूपमा घटेर हालप्रति एक हजार जीवित जन्ममा ३३ मा र पछिल्लो दशकमा भने यो प्रति एक हजार जीवित जन्ममा २१ मा आएर स्थिर देखिएको प्रतिवेदमा उल्लेख गरिएको छ । 

यसरी पछिल्लो सयम नेपालमा मातृ तथा शिशु मृत्युदरका साथै पुड्कोपना, आमाहरुमा रक्तअल्पता लगायत समस्यामा सुधार जस्ता सकारात्मक तथ्यांक देखिएको छ । 

यो सुधार स्वास्थ्य क्षेत्रका लागि मात्र नभएर समग्र मुलुकको लागि पनि सकारात्मक विषय हो । तर, यसमा थप सुधार गर्नका लागि सरकारले यो विषयलाई प्राथमिकतामा रोखर काम गर्न बलियो रणनीतिसगै बजेटमा पनि ध्यान दिन पर्ने विज्ञको जोड छ ।

नेपालले दिगो विकास अन्र्तगत सन् २०३० सम्ममा मातृ मृत्युदरलाई प्रति लाख जीवित जन्ममा ७० भन्दा कम र नवजात शिशु मृत्युदरलाई प्रतिहजार जीवित जन्ममा १२ भन्दा कममा झार्ने लक्ष्य राखेको छ । 

यो उपलब्धि हासिल गर्न नेपाले मृत्युदरलाई हरेक वर्ष ७  दशमलव ५७ प्रतिशतका दरले घटाउनु पर्ने हुन्छ । तर, मातृ मृत्युदरको कारण मध्ये ५ प्रतिशत गर्भपतनको जटिलताका साथै अनिश्चित गर्भधारण, रक्तस्राव, संक्रमण, उच्च रक्तचाप लगायतका समस्या देखिन्छन् । 

साथै खोप बालबालिकाको स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिन्छ तर ४ प्रतिशत बालबालिका खोपबाट बच्चित भएका तथ्यांकले देखिन्छ । 

आमा तथा शिशुमा देखिएका यी र यी जस्ता समस्यामा सुधार गदै जाने हो भने मातृ तथा शिशु मृत्युदरमा अझै कम गर्न सकिन्छ । 

जसको सुधारका लागि राज्यले पनि आमा तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुका साथै अन्य काम समेत भइरहेको स्वास्थ्य मन्त्रालयको दाबी छ । 

कुनै पनि मुलुकको विकास र मुलुकलाई सम्वृद्धिको बाटोतर्फ डो¥याउन सम्बन्धित मुलुकका नागरिकको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

जसका लागि स्वस्थ आमाबाट जन्मिएका स्वस्थ्य शिशु नै भोलिका सक्षम नागरिक बन्ने हुन् । यदि राज्यले अहिले जन्मने शिशुलाई स्वस्थ्य बनाउन सक्ने हो भने भविष्यमा स्वस्थ्य नागरिकबाट मुलुक मुलुकले लाभ लिन सक्छ । 

यस्तै, राज्यले हरेक वर्ष स्वास्थ्य उपचारका लागि खर्चने करोडौं रकम समेत विकास निर्माणमा लागानी गर्ने बाटो खुल्न सक्छ । 

त्यसैले स्वस्थ्य क्षेत्रको मात्र नभएर सिंगो मुलुको दिगो विकासका लागि आमा तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update