News 24 Television
एकसे एक खेलाडी र उत्कृष्ट प्रशिक्षकले सज्जित पोखरा एभेन्जर्स

कास्की । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिति नजिकिएसँगै पोखरा एभेन्जर्सले आफ्नो प्रशिक्षण पूरा गरेको छ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स सबैभन्दा महंगो  फ्रेन्चाइच टीम हो । 

लिग सुरु हुने दिन नजिकिंदै गर्दा सहभागी हुने ८ ओटै टीम उपाधि हात पार्ने दौडमा लागिरहँदा पोखरा एभेन्जर्सले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ ।  केही दिन अघि मात्रै गण्डकी हिरोज् र आईकोनिक प्लेयर्स छनोट गरेको पोखरा एभेन्जर्सले पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण पूरा गरेको हो । 

मंसिर १५ गतेदेखि काठमाडौंको किर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग हुँदैछ । लिगमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरा एभेन्जर्सले आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ भने यस टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल छन् । 

एभन्जर्समा चार विदेशी खेलाडीमा इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे रहेका छन् । 

त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ छन् । 

प्रशिक्षण फरक तरिकाले भइरहेको हुँदा खेलाडीहरू समेत उत्साहित छन् । प्रशिक्षकहरु अनुभवी भएकाले उत्कृष्ट प्रशिक्षण भइरहेको र उपाधि हात पार्ने तरिकाले मेहेनत गरिरहेको खेलाडीहरू बताउँछन् ।

लिग सुरु हुने दिन नजिकिंदै गर्दा सहभागी हुने ८ ओटै टीममा खेलाडी र प्रशिक्षक एक से एक उत्कृष्ट छन् । जसमध्ये इन्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमार पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकका रुपमा छन् । 

उनी अनुभवी र उकृष्ट प्रशिक्षकका रूपमा चिनिने गर्छन् । लिगका लागि प्रशिक्षण राम्रो भएको र खेलाडीले पनि कडा मेहेनत गरिरहेको दाबी गर्छन् प्रशिक्षक राजीव कुमार ।

पछिल्लो समय नेपालमा क्रिकेट प्रतिको आकर्षण बढिरहेको छ भने क्रिकेटमा धेरै अवसरहरू सिर्जना भैरहेका छन् । पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिगमार्फत नेपालको क्रिकेट बारे विश्व खेल जगतमा नेपालको बेग्लै परिचय बन्ने तथा नयाँ पिढीहरूमा क्रिकेट प्रति थप आकर्षण जगाउने विश्वास समेत क्यानले लिएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update