
कैलाली । राज्यको करोडौ लगानी खर्चेर सुरु गरेको कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको निर्माण कार्य अलपत्र बनेको छ ।
लम्कीदेखी खक्रौला सम्मका करिब २९ किलोमिटर सडकमध्ये २१ किलोमटिर सडक अलपत्र बनेको हो । ७ पटकसम्म म्याद थप्दा पनि सडक निर्माण कार्य पुरा हुन सकेको छैन ।
हुलाकी सडक अन्र्तगतको लम्की–टीकापुर–खक्रौला सडकको निर्माण कार्य डेढ बर्षमा सम्पन्न गर्ने गरी २०७७ जेठमा ठेक्का सम्झौता गरिएको थियो । तर सम्झौताको साढे चार वर्ष बिति सक्दा समेत निर्माण कार्य पुरा हुन सकेको छैन । निर्माण कम्पनी र सरोकारवाला कार्यालयको चरम लापरबाहीको कारण सडक अलपत्र परेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
लम्कीदेखि तोरौयापुर सम्मको ८ किलोमिटर सडक ४० करोड १९ लाख ९१ हजार रुपैयाँमा कुमार कालिका जेभि, तोरौयापुरदेखि टीकापुर अस्नेरीसम्मको १० किलोमिटर ४० करोड ९९ लाख रुपैयाँमा एपेक्स खड्का जेभी र टीकापुर अस्नेरीदेखि खक्रौला सम्मको ११ किलोमिटर सडक ३३ करोड २० लाख ६६ हजार रुपैयाँमा रायमाझी गाल्भा जगदम्बा जेभीले गरी ३ खण्डमा निर्माणको जिम्मा लगाइएको थियो ।
तर अहिले सडकको कन्तबिजोग छ, यहाँ यात्रा गर्ने यात्रुदेखि सवारी चालकसम्म धुलो, धुवा, हिलो र दुर्घटनाको जोखिमले हैरान छन् ।
सर्वसाधारणहरुलाई आवतजावत गर्न कठिन हुने गरि गिट्टीहरु सडकमा थुपारिएको छ । लामो समय देखि उक्त सडकको आसपासमा बसोबास गर्नेहरु धुलो र धुवा खान बाध्य छन् । नागरिकको स्वास्थ्यमा असर पर्ने गरि काम हँुदा समेत ठेकेदार तथा प्रत्यक्ष सरोकार राख्ने कसैलाई वास्ता छैन ।
सडकको दुरावस्थाका कारण यस क्षेत्रका जनप्रतिनिधीहरु समेत हैरान भएका छन् । उता हुलाकी सडक आयोजनाले सुरुमा ठेकेदारको लापरबाहीले समयमाकाम सम्पन्न हुन नसकेको र अहिले बजेट अभावको कारण निर्माण कार्य रोकिएको जनाएको छ ।
तोरौयापुर–टिकापुर अस्नेरी सडक ठेक्का लिने एपेक्स खड्का जेभी कम्पनी जाजरकोटको छेडदह नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काको हो भने टीकापुर अस्नेरीदेखि खक्रौला सम्मको ठेक्का लिने रायामाझी गाल्भा जगदम्बा जेभी बर्दियाको ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको हो ।
जनप्रतिनिधी नै छलछाम र सेटिङमा लागेपछि सडकजस्तो अत्यावश्यक विकासे योजना यस क्षेत्रमा अलपत्र पर्दै आएको छ । शक्तिको आडमा काम लिने र काम नगरेपनि शक्तिकै आडमा कारबाहीबाट बच्ने गरेकोले पनि उनीहरुको हुकुमी शैली र व्यवहारबाट भने यस्ता विकासे आयोजना अलपत्र हुँदा सर्वसाधारणले भने पाउनुसम्मको दुख पाएका छन् ।